स्थानीय तह निर्वाचन: यस्तो छ नेताहरुको अन्तिम तयारी – New Zealand News Nepal (NZ News Nepal)

स्थानीय तह निर्वाचन: यस्तो छ नेताहरुको अन्तिम तयारी

‘स्थानीय चुनावमा ठूला सभाहरु नगरौं, घरदैलो कार्यक्रममा मात्र जोड दिऔं भन्ने मेरो सोचाइ थियो, तर अध्यक्ष केपी शर्मा ओलीलाई विभिन्न पालिकाहरुमा माग हुन थाल्यो र चुनावी सभाहरू हुन थाले।’  नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले भनेजस्तै अहिले प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चुनावी सभाहरूलाई सम्वोधन गर्न देश दौडाहामा निस्किएका छन्।  प्रतिपक्षी दलका नेता जस्तै सत्तारुढ नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पनि चुनावी सभाहरूलाई सम्वोधन गर्न देश दौडाहामा निस्किएका छन्।  वैशाख ३० गते हुने स्थानीय निर्वाचनको प्रचार प्रसार गर्न पाइने समय अब केही दिनमात्र बाँकी छ। चुनावमा विपक्षीलाई अन्तिम धक्का दिने र आफ्नो जित निश्चित गर्ने उद्देश्यले कांग्रेस, एमाले लगायतका दलका शीर्षनेताहरू देशैभरि सभाहरूमा दौडन थालेका छन्। झापाको गोलधाप, सुरुङगा अनि इलामको लारुम्बा हुँदै एकैचोटि कैलाली कञ्चनपुर पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार रौतहटको सभालाई सम्वोधन गरेका छन्।  एमालेका अन्य सबै शीर्ष नेताहरु आ–आफ्नो निर्वाचन क्षेत्र र पालिकाहरुमा केन्द्रित भएका छन्। एमालेले सबै नेताहरुलाई विकेन्द्रित रुपमा खटाएको छ।

प्रधानमन्त्री देउवाको कार्यसूची
कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले विहीबार भरतपुर र शुक्रबार काठमाडौंको सभालाई सम्वोधन गरेका छन्। प्रधानमन्त्री देउवा शनिबार तीन जिल्लाको कार्यक्रममा सहभागी हुनेछन्। बुटवलको सभा सकेर उनी तनहुँको दमौली पुग्नेछन्, त्यसपछि धनुषाको जनकपुरमा हुने चुनावी कार्यक्रममा सहभागी हुनेछन्।

 

 

प्रधानमन्त्री देउवाले वैशाख २५ गते आइतबार एकैदिन पोखरा र दाङको तुलसीपुरका दुईवटा सभालाई सम्वोधन गर्नेछन्। वैशाख २६ गते प्रधानमन्त्री देउवाले कैलालीको धनगढीमा हुने कार्यक्रमलाई सम्वोधन गर्नेछन् भने २७ गते आफ्नो गृहजिल्ला डडेलधुराको कार्यक्रमलाई सम्वोधन गरेपछि प्रधानमन्त्रीको चुनाव प्रचार अभियान सकिनेछ।  प्रधानमन्त्री देउवा सहभागी हुने सभामा का‌ंग्रेसका अन्य नेताहरुको समेत साथ रहनेछ। शनिबार बुटवलको सभामा रामचन्द्र पौडेल र गगन थापा लगायतका नेताले सम्वोधन गर्नेछन्। तनहुँको सभामा रामचन्द्र पौडेल र डा. प्रकाश शरण महतले साथ दिनेछन्। जनकपुरको सभामा प्रधानमन्त्री देउवाका साथमा रामचन्द्र पौडेल, भीष्मराज आङदेम्बे, महेन्द्र यादव लगायतका नेताहरु हुनेछन्। वैशाख २५ गते पोखरामा हुने सभामा प्रधानमन्त्री देउवाका साथमा रामचन्द्र पौडेल, धनराज गुरुङ र जीवन परियार लगायतका नेताले बोल्ने कार्यक्रम छ। सोही दिन तुल्सीपुरमा हुने सभालाई प्रधानमन्त्री देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल र किशोरसिंह राठौर लगायतका नेताले सम्वोधन गर्ने कांग्रेसको सचिवालयले जनाए।

केपी ओलीको कार्यतालिका 
प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि देश दौडाहामा सक्रिय छन्। झापादेखि  सुदूरपश्चिमसम्म एकसरो पुगिसकेका ओलीले शुक्रबार रौतहटको गौर र चन्द्रनिगाहपुरको सभालाई सम्वोधन गरेका छन्। चुनावी अभियानका क्रममा ओलीले हेलिकोप्टरको समेत प्रयोग गरेका छन्।

 

 

एमाले अध्यक्ष ओलीले शनिबार मोरङको सुन्दर हरैंचा नगरपालिकामा हुने चुनावी सभालाई सम्वोधन गर्ने कार्यक्रम छ। आइतबार ओली चितवनको भरतपुरमा आयोजना हुने सभामा सहभागी हुनेछन्। आइतबार नै उनले बुटवलको चुनावी सभालाई पनि सम्वोधन गर्नेछन्। २६ गते सोमबार ओली धरानको चुनावी सभामा सहभागी हुनेछन्। २७ गते अध्यक्ष ओलीले उत्तरी मोरङको मिक्लाजुङ र आफ्नै गृहजिल्ला झापाको सभामा सहभागी भई प्रचार–प्रसार अभियानको मैझारो गर्ने कार्यक्रम रहेको एमाले सचिवालयले जनाएको छ।

प्रचण्डको कार्यसूची
सत्ता गठबन्धनका नेता एवं पूर्वप्रधानमन्त्री प्रचण्ड पनि देश दौडाहामा सक्रिय देखिएका छन्। विहीबार भरतपुरको सभालाई सम्वोधन गरेका प्रचण्ड शुक्रबार काठमाडौंको कार्यक्रममा सहभागी बने। शनिबार उनी जनकपुर जाँदैछन्।

 

 

जनकपुरमा देउवासँगै सभामा सहभागी बनेपछि देउवा तनहुँतिर लाग्नेछन् भने प्रचण्डले सर्लाही, महोत्तरीका केही कार्यक्रमलाई सम्वोधन गर्नेछन्।  पोखरा, दाङ र धनगढीमा प्रचण्डले प्रधानमन्त्री देउवासँगै मञ्च सेयर गर्ने कार्यक्रम रहेको माओवादीको सचिवालयले नेपालखबरलाई बतायो। प्रचण्डजस्तै माओवादीका अन्य नेताहरु पनि आ–आफ्नो कमाण्डमा सक्रिय छन्। वर्षमान पुन दाङलाई केन्द्रविन्दु बनाएर लुम्बिनीमा सक्रिय बनेका छन् भने जनार्दन शर्मा कर्णालीमा सक्रिय छन्। त्यस्तै नारायणकाजी श्रेष्ठले संखुवासभा पुगेर चुनावी कार्यक्रममा सहभागिता जनाएका छन् । हरिबोल गजुरेल सिन्धुलीमा र राम कार्की प्रदेश १ मा खटिएका छन्।

माधव नेपालको तयारी 
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आइतबार पोखराको सभामा सहभागी हुँदैछन्। समाजवादीले मेयरमा उम्मेदवारी दिएको पोखरामा प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डसँगै माधव नेपालले पनि सम्वोधन गर्ने कार्यक्रम छ।

 

शनिबार बुटवलमा हुने कार्यक्रममा पनि नेता नेपाल सहभागी हुने पार्टी निकट स्रोतले बतायो।

गोरखा र वीरगञ्जमा बाबुराम र उपेन्द्रको ध्यान
जनता समाजवादीका नेता डा. बाबुराम भट्टराई अहिले आफ्नो गृहजिल्ला गोरखामा केन्द्रित भएका छन्। अध्यक्ष उपेन्द्र यादव भने मधेसमै केन्द्रित देखिएका छन्।  डा. बाबुराम भट्टराईले पनि वीरगञ्ज जाने तयारी गरिरहेको स्रोतले बतायो। वीरगञ्जमा कांग्रेससँगको गठबन्धनमा जसपाले मेयरमा राजेशमान सिंहलाई उम्मेदवार बनाएको छ। सिंहलाई जिताउने उपेन्द्र र बाबुराम वीरगञ्जमा केन्द्रित हुने सो पार्टीका एक नेताले बताए।

 

 

आक्रामक राजेन्द्र लिङ्देन
देश दौडाहामा निस्कनेमा सबैभन्दा धेरै आक्रामक  र सक्रिय राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन देखा परेका छन्। लिङ्देनले वैशाख २२ गते यता १०८ वटा सभालाई सम्वोधन गरिसकेको केन्द्रीय सदस्य मोहन श्रेष्ठले नेपालखबरलाई बताए।  शुक्रबार लिङ्देनले ललितपुरको धापाखेल, लुभु, काभ्रेको बनेपा र काठमाडौंको गोठाटार, मूलपानी र बौद्धका सभालाई सम्वोधन गरे।  आफ्नो गृहजिल्ला झापामा उनले भद्रपुर, गोलधाप, बाह्रदशी, शिवसताक्षी र बिर्तामोड लगायतका ६ स्थानमा सम्वोधन गरिसकेका छन्। शुक्रबार उनले मेची नगर र इलामको कार्यक्रमलाई सम्वोधन गरे।

 

 

राप्रपा अध्यक्ष लिङ्देन शनिबार पोखरा र त्यसपछि नेपालगञ्ज जाँदैछन्। आइतबार जितपुर सिमराको चुनावी सभालाई सम्वोधन गर्ने लिङ्देनको कार्यसूची छ।  त्यसपछि आफ्नै गृहजिल्लाको दमक नगरपालिकामा सभा आयोजना गरेर चुनावी कार्यक्रम मैझारो गर्ने लिङ्देनको कार्यसूची छ। केपी ओलीको गृहनगर दमकमा राप्रपाले राम थापालाई मेयरमा उठाएको हुनाले लिङ्देनले दमकको सभालाई जोड दिएका छन्।

रवीन्द्र मिश्रको दौडधूप
आसन्न स्थानीय चुनावको तयारीका क्रममा साझा विवेकशील पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पनि देश दौडाहा गरिरहेका छन्।  अहिलेसम्म मिश्रले झापा, मोरङ, सुनसरी, सिराहा, बारा, रौतहट, मकवानपुर, चितवन, रुपन्देही, कपिलवस्तु लगायतका जिल्लामा आयोजित चुनावी कार्यक्रममा सहभागिता जनाएका छन्।

 

 

मिश्र शनिबार पोखरामा आयोजित कार्यक्रममा सहभागी हुनेछन्। आइतबार तनहुँको दमौलीमा आयोजित कार्यक्रममा सहभागी भएर उनी काठमाडौं केन्द्रित हुने पार्टी नेताहरुले बताए।  साझा विवेकशील पार्टीले काठमाडौंमा समीक्षा बास्कोटालाई मेयरमा उठाएको छ। मेयर उपमेयर दुवैमा महिलालाई उठाएको पार्टीले देशैभरि महिलालाई उच्च प्राथमिकता दिएको अध्यक्ष मिश्रले नेपाल खबरलाई बताए।