गत आइतबार अकल्याण्डमा आयोजना गरिएको नेपालको चर्चित लोक–रक ब्याण्ड नेपथ्यको भव्य कन्सर्ट सफलतापूर्वक सम्पन्न भएपछि आयोजक टोली लाखे इभेन्ट्स अहिले नेपाली समुदायबाट व्यापक प्रशंसा र धन्यवादको पात्र बनेको छ।
केही वर्षअघिसम्म न्यूजिल्याण्डमा रहेका सीमित नेपाली समुदायबीच नेपाली सांगीतिक कार्यक्रमहरू विरलै आयोजना हुने गर्थे। चर्चित नेपाली कलाकार वा ब्याण्डलाई प्रत्यक्ष रूपमा हेर्न पाउनु धेरैका लागि केवल चाहना मात्र थियो। तर पछिल्ला चार वर्षमा लाखे इभेन्ट्सले नेपाली मनोरञ्जन क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै न्यूजिल्याण्डमा बसोबास गर्ने नेपालीहरूलाई आफ्नै भाषा, संगीत र संस्कृतिसँग जोड्ने महत्वपूर्ण भूमिका निर्वाह गरेको छ।
सन् २०२२ यता लाखे इभेन्ट्सले एक दर्जनभन्दा बढी चर्चित नेपाली कलाकारलाई न्यूजिल्याण्ड ल्याएर सफल कार्यक्रम आयोजना गरिसकेको छ। २०२२ दशैंको अवसरमा “दशैं धमाका” अन्तर्गत न्यूजिल्याण्डका ६ शहरमा विशेष कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा चर्चित गायक प्रकाश सपूत तथा हास्य कलाकार भरतमणि पौडेलले प्रस्तुति दिएका थिए। त्यसपछि नोभेम्बरमा लोकप्रिय गायक सविन राईले आफ्ना चर्चित गीतमार्फत न्यूजिल्याण्डवासी नेपालीलाई झुमाएका थिए।
सन् २०२३ मा बिपुल क्षेत्री लाखे इभेन्ट्सकै निमन्त्रणामा न्यूजिल्याण्ड आएका थिए। त्यही वर्षको दशैं विशेष कार्यक्रममा प्रमोद खरेल, मेलिना राई लगायत कलाकारहरूले विभिन्न शहरमा रहेका नेपाली समुदायमाझ सांगीतिक प्रस्तुति दिएका थिए।
सन् २०२४ मा युवा पुस्तामाझ लोकप्रिय भेक र याबेश थापाले अकल्याण्ड तताएका थिए भने सेप्टेम्बरमा चर्चित कथा वाचक साइग्रेस पोखरेल पनि न्यूजिल्याण्ड पुगेका थिए।
त्यस्तै सन् २०२५ मा पनि लाखे इभेन्ट्सले निरन्तर रूपमा ठूला कार्यक्रमहरू आयोजना गर्यो। फेब्रुअरीमा भ्यालेन्टाइन डे विशेष अवसरमा चर्चित गायक सज्जनराज वैद्यले हजारौं दर्शकमाझ आफ्नो प्रस्तुति दिएका थिए। त्यसपछि लोकगायिका शान्तिश्री परियार तथा गायक कालीप्रसाद बास्कोटाले पनि सांगीतिक कार्यक्रममार्फत दर्शकलाई मनोरञ्जन दिएका थिए। सोही वर्ष द एज ब्याण्डको कन्सर्ट अकल्याण्ड र क्राइस्टचर्चमा आयोजना गरिएको थियो भने वर्षको अन्त्यतिर लाहुरे र सुदिन पोखरेल सहभागी “हिपहप नाइट” कार्यक्रमले पनि राम्रो चर्चा बटुलेको थियो।
यी सबै कार्यक्रमबीच हालसम्मकै सबैभन्दा भव्य र सफल कार्यक्रमको रूपमा भने नेपथ्यको अकल्याण्ड कन्सर्टलाई हेरिएको छ। दक्षिण अकल्याण्डस्थित ड्यु ड्रप इभेन्ट्स सेन्टरमा आयोजित कार्यक्रममा करिब २५ सयभन्दा बढी दर्शक सहभागी भएका थिए। यो न्यूजिल्याण्डमा नेपाली समुदायबीच आयोजना गरिएको अहिलेसम्मकै सबैभन्दा ठूलो मनोरञ्जनात्मक कार्यक्रम हो।
अकल्याण्ड आसपास मात्र नभई साउथ आइल्याण्डका विभिन्न शहरबाट समेत नेपालीहरू कन्सर्ट हेर्न पुगेका थिए। युवा, वयस्कदेखि वृद्धवृद्धासम्म नेपाली संगीतप्रेमीहरू एउटै छानामुनि भेला भएर नेपथ्यका गीतमा रमाएका थिए। करिब दुई घण्टाभन्दा बढी समयसम्म चलेको प्रस्तुतिमा दर्शकहरू निरन्तर उत्साहका साथ झुमिरहेका देखिन्थे।
कन्सर्टमा सहभागी एक दर्शकले दैनिक काम, अध्ययन र पारिवारिक व्यस्तताबीच यस्ता कार्यक्रमहरूले विदेशमा रहेका नेपालीलाई मानसिक रूपमा ठूलो राहत र आफ्नोपनको अनुभूति दिलाउने बताए।
कार्यक्रममा नेपथ्यका मुख्य गायक अमृत गुरुङले न्यूजिल्याण्डवासी नेपाली समुदायलाई मायालु साथ र भव्य उपस्थितिका लागि विशेष धन्यवाद दिएका थिए।
यस ऐतिहासिक कन्सर्टको सफलतासँगै लाखे इभेन्ट्सप्रति नेपाली समुदायको विश्वास अझ बलियो बनेको देखिन्छ। लगातार सफल कार्यक्रम आयोजना गर्दै आएको लाखे इभेन्ट्सलाई नेपथ्य कन्सर्टले थप ऊर्जा र हौसला प्रदान गरेको छ। आगामी दिनमा अझ ठूला र प्रभावशाली नेपाली सांगीतिक कार्यक्रमहरू न्यूजिल्याण्डमा आयोजना हुने अपेक्षा समेत गरिएको छ।



