न्युजिल्याण्डका विदेशमन्त्री तथा न्युजिल्याण्ड फर्स्टका नेता विन्स्टन पिटर्सले नेपालमा हालै आएको बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्।
नेपालको प्राकृतिक सौन्दर्यको प्रशंसा गर्दै पिटर्सले आफूले नेपाल भ्रमण गरिसकेको स्मरण गरे। नेपाल प्राकृतिक सुन्दरताले भरिपूर्ण देश भएको र यसको महत्वबारे धेरै न्युजिल्याण्डवासी जानकार रहेको उनले बताए।
आफ्नो नेपाल भ्रमणको अनुभव सुनाउँदै पिटर्सले विपत्तिको यस घडीमा नेपाललाई मानवीय तथा आवश्यक अन्य सहयोग उपलब्ध गराउन न्युजिल्याण्ड पछि नहट्ने प्रतिबद्धता व्यक्त गरे।
नेपाल र न्युजिल्याण्डबीच लामो समयदेखिको ऐतिहासिक सम्बन्ध रहेको उल्लेख गर्दै उनले न्युजिल्याण्डमा बसोबास गर्ने नेपाली समुदायको पनि प्रशंसा गरे।
कार्यक्रममा स्वास्थ्य मन्त्री सीमोन ब्राउनसहित सरकारका मन्त्री, सांसद, राजनीतिक दलका नेता तथा विभिन्न समुदायका प्रतिनिधिले बाढीपहिरोबाट प्रभावित नेपाली परिवारप्रति ऐक्यबद्धता जनाउँदै दुःख व्यक्त गरेका थिए।
नेपालमा बाढीपहिरो प्रभावित परिवारको राहत तथा पुनर्स्थापनाका लागि सहयोग जुटाउने उद्देश्यले आयोजित कार्यक्रममा करिब ३०० जनाको सहभागिता रहेको थियो।