न्युजिल्याण्डमा आगामी ७ नोभेम्बरमा हुने आम निर्वाचनका लागि अब १०० दिन मात्र बाँकी रहँदा संसदमा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलहरूले आफ्नो चुनावी प्राथमिकता सार्वजनिक गर्न थालेका छन्।
विपक्षी लेबर पार्टीका चुनाव अभियान प्रमुखले आफ्नो पार्टीले मिश्रित सदस्यीय समानुपातिक निर्वाचन प्रणाली (MMP) लागू भएपछि पहिलो पटक कुनै सरकारलाई एक कार्यकालमै सत्ता बाहिर पठाउने वास्तविक अवसर रहेको विश्वास व्यक्त गरेका छन्।
यता सत्तारुढ नेशनल पार्टीका नेता तथा प्रधानमन्त्री क्रिस्टोफर लक्सनले आगामी १०० दिन पार्टीको ध्यान अर्थतन्त्र, कानून तथा शान्ति–सुरक्षा, र सार्वजनिक सेवाको सुधार मा केन्द्रित रहने बताएका छन्। उनले भने, “अब मुख्य प्रश्न भनेको देश र अर्थतन्त्रलाई कसले राम्रोसँग व्यवस्थापन गर्न सक्छ भन्ने हो।”
हालै सार्वजनिक भएको RNZ–Reid Research को सर्वेक्षणअनुसार नेशनल पार्टीको समर्थन २८.७ प्रतिशत रहेको छ। उक्त मत प्रतिशतका आधारमा अहिलेको गठबन्धन सरकारले पुनः सरकार गठन गर्न सक्ने सम्भावना देखिएको छ।
सोही सर्वेक्षणमा न्युजिल्याण्ड फर्स्ट पार्टीको समर्थन ११.५ प्रतिशत रहेको छ। पार्टीका नेता विन्स्टन पिटर्स (Winston Peters) ले देश सही दिशातर्फ अघि बढ्न लागेको दाबी गर्दै आगामी दिनहरूमा सकारात्मक परिवर्तन देखिने बताएका छन्।
ACT पार्टीका नेता डेभिड सेमोरले निर्वाचनसम्म बाँकी १०० दिनमा थप नीति तथा कार्यक्रम सार्वजनिक गर्दै मतदातामाझ जाने बताएका छन्।
त्यसैगरी ग्रीन पार्टीकी सह–नेता क्लोइ स्वारब्रिकले आफ्नो पार्टीले सस्तो जीवनयापन, स्वस्थ वातावरण तथा राजनीतिमा इमानदारी पुनःस्थापनालाई मुख्य चुनावी एजेन्डा बनाउने बताएकी छन्।
आगामी निर्वाचन नजिकिँदै जाँदा प्रमुख दलहरूले मतदाता आकर्षित गर्न आफ्ना नीति, कार्यक्रम र चुनावी प्रतिबद्धताहरूलाई तीव्र रूपमा अघि बढाउने तयारी गरेका छन्।


