हाम्रो लागि नेपाल विशेष देश, आवश्यक सहयोग गर्न तयार छौ: न्युजिल्याण्डका प्रधानमन्त्री

55 Shares

न्युजिल्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनले नेपाल न्युजिल्याण्डका लागि ‘विशेष देश’ रहेको बताएका छन्। नेपालमा आएको भीषण बाढी तथा पहिरोपछि पाँच जना न्युजिल्याण्डका नागरिक बेपत्ता रहेको विषयमा जानकारी दिँदै उनले आवश्यक सहयोग गर्न न्युजिल्याण्ड तयार रहेको बताएका हुन्।

अकल्याण्डमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री लक्सनले नेपालसँग न्युजिल्याण्डको सम्बन्ध सर एडमन्ड हिलारीसँग जोडिएको ऐतिहासिक सम्बन्धका कारण पनि विशेष रहेको बताए।

नेपाल–तिब्बत सीमाक्षेत्रमा आएको भीषण बाढी र पहिरोबाट ठूलो जनधनको क्षति भएको भन्दै लक्सनले घटनाका तस्बिरहरू अत्यन्तै हृदयविदारक रहेको बताए।

बाढी र पहिरोपछि पाँच जना न्युजिल्याण्डका नागरिकको अवस्था अझै अज्ञात रहेको उनले पुष्टि गरे। उनीहरू सोही प्रभावित क्षेत्रमा रहेको जानकारी न्युजिल्याण्ड सरकारसँग रहेको उनले बताए।

लक्सनका अनुसार न्युजिल्याण्डले नेपालमा कन्सुलर सहयोगका लागि नयाँदिल्लीबाट थप जनशक्ति परिचालन गरिसकेको छ। आवश्यकता अनुसार थप स्रोतसाधन र जनशक्ति परिचालन गर्न सरकार तयार रहेको उनले बताए।

न्युजिल्याण्डमा रहेका नेपाली समुदायप्रति पनि सरकार गम्भीर रहेको लक्सनले बताए। उनले नेपालमा रहेका आफन्तको अवस्थाबारे चिन्तित न्युजिल्याण्डस्थित नेपाली परिवारहरूसँग आफूले कुराकानी गरेको जानकारी दिए।

“न्युजिल्याण्डमा धेरै नेपाली परिवार अहिले उच्च चिन्तामा छन्। नेपालमा आफ्ना आफन्त गुमाएका परिवारका लागि यो निकै पीडादायी अवस्था हो,” लक्सनले भने।

उनले प्रभावित क्षेत्रमा थप सहयोग आवश्यक परे न्युजिल्याण्डले आवश्यक कदम चाल्ने प्रतिबद्धता पनि दोहोर्‍याएका छन्।

सम्बन्धित समाचार

सबै