अस्ट्रेलियाले आफ्नो अध्यागमन नीतिमा व्यापक परिवर्तन गरेको छ । अस्ट्रेलियाका गृहमन्त्री टोनी बर्कले समग्र आप्रवासी संख्या घटाउने, विद्यार्थी भिसामा भइरहेको अनियमिततालाई रोक्ने, दक्ष कामदारलाई प्राथमिकता दिनेलगायतका परिवर्तनको घोषणा गरेका हुन् ।
नयाँ अध्यागमन नीति अनुसार अबदेखि उच्च शिक्षा अध्ययनका लागि आउने विद्यार्थीले श्रीमान् वा श्रीमतीसँगै ल्याउन पाउने छैनन् । अध्ययनका लागि आउने विद्यार्थी एक्लै आउनुपर्नेछ । यसमा विद्यावारिधी गर्न आउने विद्यार्थीलाई भने छुट दिइएको छ । यसैगरी प्यासिफिक र दक्षिण पूर्वी एसिएन मुलकबाट आउने विद्यार्थीले समेत छुट पाउनेछन् । बर्कले सार्वजनिक गरेको नीतिअनुसार अस्ट्रेलियामै (अनसोर) रहेका विद्यार्थी र उनीहरूका पार्टनरलाई भने यो नियम लागु हुने छैन् । ‘हामी अनसोरमा भएका परिवारलाई अलग पार्न चाहनौं,’ बर्कको भनाइ छ । विद्यार्थीले ब्याचलरबाट मास्टर्स अध्ययन गर्नका लागि भिसा आवेदन दिए पनि आफूले अहिले अध्ययन गरिरहेको तहबाट तल्लो तहमा अध्ययनका लागि भिसा आवेदन दिने क्रमलाई निरुत्साहित गरिएको छ ।
यसैगरी भिजिटर भिसामा आउनेलाई थप बस्न नमिल्ने व्यवस्था राखेर भिसा प्रदान गरिने भएको छ । जसले अस्ट्रेलिया आइसकेपछि अन्य भिसामा परिवर्तन गर्ने सम्भावनाको अन्त्य गर्नेछ । भिजिटर भिसामा आएर अन्य भिसामा आवेदन दिइपछि उक्त आवेदन ब्रिजिङ भिसामा परिवर्तन हुने र निर्णय नहुन्जेलसम्म अस्ट्रेलियामै रहने प्रवृत्तिलाई अन्त्य गर्न भिजिटर भिसामा ‘नो फर्दर स्टे’ वा सीमित समयपछि बस्न नमिल्ने व्यवस्था गर्न लागिएको हो ।
यस्तै अस्ट्रेलियाले आफ्नो वार्षिक आप्रवासीको संख्यालाई सन् २०२८ सम्ममा ३ लाखबाट घटाएर २ लाख २५ हजार बनाउने लक्ष्य राखेको छ । यसका साथै वर्किङ होलिडे भिसामा काम गर्नका लागि आउनेको दोस्रो तथा तेस्रो वर्षको संख्यामा समेत व्यापपक कटौती गर्ने घोषणा गरिएको छ । वर्किङ होलिडे भिसामा आउन पाउने ५७ हजारको संख्यालाई दोस्रो वर्षमा ४५ हजार र ३१ हजारको संख्यालाई तेस्रो वर्षमा ५ हजारमात्र रहन पाउने नयाँ नियम घोषणा गरिएको हो । यसका लागि चिट्ठा प्रक्रिया अपनाउने घोषणा गरिएको छ ।
अस्ट्रेलियामा गैरकानुनी रुपमा बसोबास गरिरहेका विदेशी नागरिकलाई अस्ट्रेलियाबाट फिर्ता पठाउने कार्यलाई तिब्रता दिइने भएको छ । बर्कका अनुसार यसका लागि मेलबर्नमा रहेको क्वारेन्टाइन स्थानलाई डिटेन्सन सेन्टरका रुपमा परिवर्तन गरिनेछ भने थप १०० अधिकारी परिचालन गरिनेछ । अस्ट्रेलियामा करिब ७७ हजार अवैधानिक रुपमा बसोबास गरिरहेको अनुमान छ ।
अस्ट्रेलियाले अहिले पनि दक्ष कामदारको माग भइरहेको स्वास्थ्य, निर्माण, शिक्षा र सुरक्षा क्षेत्रमा आउने आवेदनलाई प्राथमिकता दिने भएको छ । बर्कले अस्ट्रेलियामा पछिल्लो समयमा आप्रवासीको भीड लागेको भन्ने आरोपलाई भने खण्डन गरेका छन् । उनले आप्रवासी अस्ट्रेलियाको लागि शक्तिका रुपमा रहे पनि यसलाई उच्च तहको नियन्त्रण आवश्यक रहेको बताएका छन् ।
सिड्नीमा रहेका अधिवक्ता संजिव पाण्डे यो परिवर्तित नियमले विद्यार्थी तथा अभिभावक दुवैलाई असर गर्ने सुनाउँछन् । उनका अनुसार विद्यार्थी मात्र नभएर अध्ययन सकेर ग्रयाजुएट भिसामा हुनेले समेत आफ्ना पार्टनर ल्याउन नपाउने भएपछि अत्यन्तै सबल आर्थिक अवस्था भएको परिवारका विद्यार्थीबाहेक अन्यलाई आर्थिक रुपमा समस्या हुनेछ । सामान्यतया विद्यार्थीले अध्ययन गर्ने र उसको श्रीमान वा श्रीमतीले काम गरेर आर्थिक सहयोग गर्ने परिपाटी भए पनि यो नियमले विद्यार्थीलाई आर्थिक रुपले थप समस्या पार्ने उनको विश्लेषण छ ।
Source: Ekantipur