प्रकाशमान सिंहले गरे कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा – New Zealand News Nepal (NZ News Nepal)

प्रकाशमान सिंहले गरे कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

   September 26, 2021  

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पनि पार्टी सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन्। नेता सिंहले पार्टीमा आमूल परिवर्तन ल्याउनका लागि पनि आफूले पार्टीको ‘नम्बर वान म्यान’ भएर काम गर्ने निष्कर्ष निकालेको पनि स्पष्ट पारे। नेपाली कांग्रेस काठमाडौं महानगर पालिका वडा- १७ ले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले अवसर पाएर पनि नेताहरुले काम नगरेका कारण पार्टी लथालिंग अवस्थामा पुगेको उल्लेख गर्दै १४ महाधिवेशनले पनि पुरानै नेताहरूलाई नेतृत्व सुम्पिए नेपाली कांग्रेसको हालत प्रजापरिषदको जस्तै हुने चेतावनीसमेत दिए।

उनले सिंगो पार्टी पंक्तिलाई संस्थागत ढंगले अघि बढाउन पनि आफूले पार्टीको ‘नम्बर वान म्यान’ भएर काम गर्न चाहेको पनि पटक-पटक दोहोर्‍याए। नेता सिंहले आफूले लामो समयदेखि पार्टीको दोस्रो तहमा रहेर काम गरिसकेकाले पनि अव सभापति भएर काम गर्न चाहेको बताए। ‘अवसर पाएर पनि काम गर्न नसक्ने नेताहरुलाई राख्न मिल्दैन है। मैले भने सबै नेताहरुलाई हामी सम्मान गछौं। त्याग, तपस्या, कुर्वानी उहाँहरुले डेमोक्रेसी ल्याउनका लागि गर्नु भएको छ। त्यसप्रति सम्मान छ। तर अवसर पाएका बेला काम नगरेको र पार्टीको जुन लथालिंग अवस्था छ। यदि हामीले यो लथालिंग अवस्थामा१४ औं महाधिवेशनमा पनि ठिक नेतृत्वको हातमा पार्टीलाई सुम्पन सकेनौ भने यो पार्टी प्रजापरिषदको बाटोमा जान धेरै दिन लाग्दैन है’, उनले भने, ‘त्यही कारणले गर्दाखेरी मैले अनुभव बोकेको छु, देखेको छु। पार्टीमा आमूल परिवर्तन ल्याउनका लागि चाँही ‘नम्बर वान म्यान’ नै हुनुपर्ने रहेछ भन्ने मैले आफ्नो अनुभवबाट कन्क्लुजन ड्र गरेर अव चाँही ‘नम्बर वान म्यान’ भएर नेपाली कांग्रेस पार्टीलाई संस्थागत गर्छु भनेर लागि रहेको छु।’

नेता सिंहले आफूले उपसभापति, महामन्त्री भएर पार्टीमा काम गरिसकेकाले पनि अव सभापतिमा उम्मेदवारी दिने योजना बनाएको तर्क समेत गरे। उनले आफूले नेतृत्व लिएपछि पार्टीलाई विधिसम्मत ढंगले अघि बढाउने बताए। नेता सिंहले पार्टी नेतृत्वले १४ औं महाधिवेशनको मिति फेरी पनि सार्ने षडयन्त्र गरिरहेको भन्दै आक्रोश  व्यक्त गरे।