७ महिनामा न्युजिल्याण्डका प्रधानमन्त्रीले गरे ८ देशको भ्रमण – New Zealand News Nepal (NZ News Nepal)

७ महिनामा न्युजिल्याण्डका प्रधानमन्त्रीले गरे ८ देशको भ्रमण

- जसिन्डाले ५ वर्षमा अष्ट्रेलियाको मात्र ७ पटक भ्रमण गरिन्
   June 21, 2024  

न्युजिल्याण्डको ४२ औं प्रधानमन्त्रीको रुपमा आफ्नो कार्यकाल सुरु गरेका नेसनल पार्टीका नेता क्रिस्टोफर लक्सनले ७ महिनाको अवधीमा ८ देशको भ्रमण गरेका छन् । नोभेम्बर २७ सन् २०२३ मा प्रधानमन्त्री नियुक्त भएका लक्सनले आफ्नो कार्यकाल सुरु भएको ७ महिनामा बिभिन्न ८ देशको भ्रमण गरेका हुन् । प्रधानमन्त्री भएलगत्तै प्रधानमन्त्री लक्सन अष्ट्रेलिया गएका थिए । उनको अष्ट्रेलियाको पहिलो भ्रमण डिसेम्बर २० मा भएको थियो । सिड्नीमा उनले अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी एल्बानिजलाई भेटेर सोही दिन न्युजिल्याण्ड फर्किएका थिए ।

त्यस्पछि मार्च ५ र ६ तारिकका दिन उनि पुन: अष्ट्रेलिया गएका थिए । मेल्बर्नमा आयोजित अष्ट्रेलिया- आसियान समिटमा भाग लिन प्रधानमन्त्री लक्सन मेल्बर्न पुगेका थिए । यो उनको कार्यकालमा अष्ट्रेलियाको दोस्रो भ्रमण हो ।त्यस्तै गत अप्रिलमा प्रधानमन्त्रीले ३ देशको औपचारिक भ्रमण गरेका थिए । अप्रिल १५ देखि २० सम्म उनले सिगांपुर, थाईल्याण्ड र फिलिपिन्सको भ्रमण गरेका थिए ।


प्रधानमन्त्री लक्सनले यसै महिना ४ देशको भ्रमण गरेका छन् । उनले जुन ३ देखि ६ सम्म न्युए र फिजीको भ्रमण गरे भने भर्खरै पपुवा न्युगिनी र जापानको भ्रमण सकेर प्रधानमन्त्री स्वदेश फर्किएका छन् । जुन १६ मा उनले पपुवा न्युगिनीमा त्यहाका प्रधानमन्त्रीलाई भेटि जुन १७ बाट जापानको औपचारिक भ्रमण गरेका थिए । आगामी केही महिनामा प्रधानमन्त्रीले थप केही बिदेश भ्रमण गर्ने तालिका सार्वजनिक भएको छ । उनले अगस्तमा टोङाको, सेप्टेम्बरमा अमेरिकाको, अक्टोबरमा सामोआको र नोभेम्बरमा पेरुको भ्रमण गर्ने बताईएको छ ।

पुर्व प्रधानमन्त्री क्रिस हिप्किन्सले आफ्नो १० महिने कार्यकालमा ७ देशको भ्रमण गरेका थिए ।

हिप्किन्सले अष्ट्रेलियाको दुईपटक र बेल्जियम, चीन, लुथनिया, पपुवा न्युगिनी, स्विडेन र बेलायतको एक पटक भ्रमण गरेका थिए ।

 

हिप्किस अगाडिकी प्रधानमन्त्री जसिन्डा आर्डेनले भने आफ्नो ५ वर्षे कार्यकालमा २५ देशको औपचारिक भ्रमण गरेकी थिईन् । यो क्रममा उनले अष्ट्रेलियाको मात्र ७ पटक भ्रमण गरिन् ।  त्यस्तै बेलायत र अमेरिकाको ४ पटक, सिंगापुर र सामोआको ३ पटक, बेल्जियम, फिजी, फ्रान्स, जापान, थाईल्याण्ड र भियतनामको दुई पटक उनले भ्रमण गरेकी थिईन ।

जसिन्डा न्युजिल्याण्डको प्रधानमन्त्रीको रुपमा कम्बोडिया, कुक आईल्याण्ड,चीन, जर्मनी, नाउरु, न्युए, फिलिपिन्स, पपुवा न्युगिनी, रोस डिपेन्डेन्सी, स्पेन, स्विटजरल्याण्ड, टोङा, टोकेलौ र तुभालु एक पटक भ्रमण गरेकी थिईन ।