प्रधानमन्त्री प्रचण्ड पदमुक्त हुने लगभग निश्चित, प्रचण्डको पक्ष आज बढीमा ६८ सांसद – New Zealand News Nepal (NZ News Nepal)

प्रधानमन्त्री प्रचण्ड पदमुक्त हुने लगभग निश्चित, प्रचण्डको पक्ष आज बढीमा ६८ सांसद

   July 12, 2024  

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत नपाउने लगभग निश्चित देखिएको छ । यो सँगै उनी प्रधानमन्त्री पद बाट पदमुक्त हुने छन् ।

बिहीबार दिनभर फरक फरक दलहरूले आफ्नो संसदीय दलको बैठक बसेर विश्वासको मतसम्बन्धी निर्णय गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै छन् । दलहरूको निर्णय हेर्दा प्रधानमन्त्री प्रचण्ड स्पष्ट अल्पमतमा छन् । शुक्रबार बिहान ११ बजेसम्म कुनै राजनीतिक उथलपुथल नभए प्रधानमन्त्री प्रचण्डले सरकारी निवास बालुवाटार छाड्नुपर्ने स्पष्ट छ । स्वतन्त्रबाहेक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मात्र संसदीय दलको बैठक राखेर आधिकारिक निर्णय गर्न बाँकी छ । तर, दलका नेताहरूका अनुसार रास्वपा प्रधानमन्त्री प्रचण्डकै पक्षमा उभिने तयारीमा छ ।

अहिलेसम्मको हिसाब हेर्दा प्रधानमन्त्री प्रचण्डलाई उनकै दल नेकपा (माओवादी केन्द्र)बाट ३२, नेकपा (एकीकृत समाजवादी)बाट १० मत आउनेछ । यी दुवैको संसदीय दलको बैठक बसेर निर्णय गरिसकेको छ । प्रधानमन्त्री प्रचण्डलाई रास्वपाले २१ मत दिए भने उनको पक्षमा ६३ मत आउने देखिन्छ । यद्यपि, उसले निर्णय भने गरिसकेको छैन । शुक्रबार बिहान ९ बजेका लागि संसदीय दलको बैठक बोलाइएको छ । सोही बैठकले निर्णय लिने सचेतक निशा डाँगीले बताएकी छन् ।

यता, स्वतन्त्र सांसद र राष्ट्रिय जनमोर्चाले कता मत दिन्छन् भन्ने निर्णयमा पुगेका छैनन् । नेपाल मजदुर किसान पार्टी भने तटस्थ बस्दै आएको छ । यदि यी सबैले प्रधानमन्त्री प्रचण्डलाई मत दिए भने पनि पक्षमा ६८ मतमात्र पुग्नेछ । प्रतिनिधिसभामा प्रधानमन्त्री प्रचण्डले आफ्नो सरकार टिकाउने भए १३८ मत जुटाउन आवश्यक हुन्छ । तर, दलहरूले गरेका हालसम्मका निर्णयअनुसार यो सम्भावना कमै देखिन्छ ।

यता, प्रधानमन्त्री प्रचण्डको विपक्षमा संसद् पहिलो, दोस्रो, पाँचौँ, सातौँलगायत दल उभिने स्पष्ट छ । पहिलो ठूलो दल नेपाली कांग्रेसले विपक्षमा मत हाल्न ह्वीप नै जारी गरेको छ । कांग्रेससँग ८८ सांसद छन् । यस्तै, दोस्रो ठूलो दल नेकपा (एमाले) पनि पक्षमा मत नहाल्ने बताइसकेको छ । एमालेसँग ७९ सांसद छन् । जसमा सभामुख देवराज घिमिरे र निलम्बित सांसद टोपबहादुर रायमाझीको संख्या घटाउँदा ७७ हुन आउँछ ।

यस्तै, संसद्को पाँचौँ ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टीसँग १४ सिट छ । उसले पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गरिसकेको छ । यता, प्रधानमन्त्री प्रचण्ड आफैँले फुटाइदिएको दल जनता समाजवादी पार्टीसँग सात सिट छ । उपेन्द्र यादव नेतृत्वको दल जनता समाजवादी पार्टी नेपालसँग पाँच सिट बाँकी छ । यी दुवै दलले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गरिसकेको छ ।

प्रचण्डको विपक्षमा उभिने अर्को दल हो जनमत पार्टी । उसको ६ सांसद छन् । मधेस सरकारमा कांग्रेस–एमालेले आफ्नो मुख्यमन्त्री जोगाइदिएकाले जनमत पनि नयाँ बन्ने गठबन्धनमा सामेल हुने प्रवक्ता शरदसिंह यादवले जानकारी दिएका छन् ।

यस्तै, समान चार सिट भएको नागरिक उन्मुक्ति चार र लोकतान्त्रिक समाजवादी पार्टी पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने पक्षमा छैन ।