नेपालको नयाँ प्रधानमन्त्रीमा केपी शर्मा ओली नियुक्त – New Zealand News Nepal (NZ News Nepal)

नेपालको नयाँ प्रधानमन्त्रीमा केपी शर्मा ओली नियुक्त

   July 14, 2024  

एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन्। प्रतिनिधिसभाको दुईवटा प्रमुख दल कांग्रेस र एमालेका सांसदको समर्थनमा संविधानको धारा ७६(२) अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई मुलुकको नयाँ प्रधानमन्त्रीमा नियुक्त गरेका हुन्।

नवनियुक्त प्रधानमन्त्रीको शपथ ग्रहण भोलि हुने भएको छ। राष्ट्रपति कार्यालयले नवनियुक्त प्रधानमन्त्री ओलीको शपथ ग्रहण समारोह भोलि बिहान ११ बजेका लागि आयोजना गरेको छ।

ओली २४ असोज ०७२ मा पहिलोपल्ट प्रधानमन्त्री निर्वाचित भएका थिए । व्यवस्थापिका संसद्मा ५९७ सदस्यमध्ये ओलीले ३३८ मत प्राप्त गरेका थिए । ओलीको उम्मेदवारीलाई माओवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र मधेसी जनअधिकार फोरमसहित अन्य १३ वटा दले समर्थन गरेका थिए ।

यस्तै, ०७४ को प्रतिनिधिसभा निर्वाचनपछि सबैभन्दा ठूलो दलको हैसियतमा ओली ३ फागुन ०७४ मा दोस्रोपटक प्रधानमन्त्री नियुक्त भएका थिए । उनलाई तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले ३० वैशाख ०७८ मा तेस्रोपटक प्रधानमन्त्री नियुक्त गरेकी थिइन् ।

अल्पमतको प्रधानमन्त्री भए पनि विपक्षी दलमध्ये कुनै पनि दलले बहुमतको सरकार गठन गर्न वा त्यसका लागि आफ्नो दाबी उपलब्ध समयसीमाभित्र राख्न असमर्थ भएपछि पूर्वराष्ट्रपति भण्डारीले ओलीलाई प्रधानमन्त्री पुनः नियुक्ति गरेकी थिइन् ।