भारतीय प्रधानमन्त्रीसँग परराष्ट्रमन्त्री आरजु राणाको भेट, मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा – New Zealand News Nepal (NZ News Nepal)

भारतीय प्रधानमन्त्रीसँग परराष्ट्रमन्त्री आरजु राणाको भेट, मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा

   August 20, 2024  

भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेटवार्ता गरेकी छिन्। विदेशी पाहुनाहरू भेट्नका लागि तयार पारिएको हैदरावाद हाउसमा सोमबार साँझ उनीहरूबीच भेटवार्ता भएको हो। उनीहरूबीच करिब आधाघण्टा छलफल भएको थियो। भारतीय टोलीमा विदेशमन्त्री एस जयशंकर, सुरक्षा सल्लाहकार अजित डोभाल, विदेश सचिव विक्रम मिस्री लगायतका अधिकारी थिए।

त्यस्तै नेपालको तर्फबाट परराष्ट्र मन्त्रालयका सहसचिव भृगु ढुंगाना, कार्यवहाक राजदूत डा. सुरेन्द्र थापा, काउन्सुलर दुर्पदा सापकोटा पनि उपस्थित थिइन्। भेटका क्रममा परराष्ट्रमन्त्री राणाले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणका लागि दिएको निमन्त्रणा पत्र हस्तान्तरण गरेकी थिइन्। नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव विक्रम मिस्रीमार्फत पनि प्रधानमन्त्री ओलीले मोदीलाई निमन्त्रणा गरेको थिए।

प्रमुख दलहरू नेपाली कांग्रेस र नेकपा एमालेबीचको सहमतिले सरकार बनेयता नेपालका तर्फबाट भारतमा याे पहिलो उच्चस्तरीय भ्रमण हो।
परराष्ट्रमन्त्री राणाले आजै भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेकी थिइन्।

पाँच दिने भारत भ्रमणका लागि उनी आइतबार नयाँ दिल्ली गएकी थिइन्।