न्युजिल्याण्डकी पुर्व प्रधानमन्त्री हेलेन क्लार्कले नेपालमा गत शुक्रबार सोलुखुम्बुको थामेमा आएको माटोसहितको पहिरोले प्रभावित भएको क्षेत्रमा सहयोगको लागि अपिल गरेकी छिन् । उनले आफु गत वर्ष मात्र नेपाल भ्रमणमा रहेको बेला थामेमा बसेको स्मरण गर्दै त्यहाँ गत शुक्रबार आएको बाढीले क्षति पुर्याएको र राहत आवश्यक रहेको भन्दै सहयोगको अपिल गरेकी छिन् । हेलेन सन् १९९९ देखि २००८ सम्म ३ कार्यकालको लागि न्युजिल्याण्डको प्रधानमन्त्री बनेकी थिइन् ।
उनले समाजिक सन्जालमा थामेमा आएको बाढीको भिडियो पोस्ट गर्दै यस्तो लेखेकी छिन् :
गत वर्ष म नेपालको सगरमाथा क्षेत्रमा रहेको थामे गाउँमा बसेको थिए । एड्मण्ड हिलारीसँग सगरमाथामा पहिला टेक्ने तेन्जिङ नोर्गे यहि ठाउँबाट हुनुहुन्छ ।
गत हप्ता थामे माथी रहेको हिमताल फुटेर माटो र पानी सहितको बाढीले थामेलाई ध्वस्त बनाएको छ । स्कुल, क्लिनिक, घर, लज प्रभावित भएका छन् ।
मानिसहरूमा आघात परेको छ र धेरै मानिस घरबारविहीन छन्। त्यहाँ आपतकालीन राहत अब अत्यावश्यक छ। कृपया थामेका जनताको लागि सहयोग गर्नु होला ।
खुम्बु पासाङल्हामु गाउँपालिका– ५ स्थित थामेखोला किनारको गाउँमा शुक्रबार दिउँसो एक्कासि आएको ठूलो बाढीले बस्ती तहसनहस बनाएको थियो । मानवीय क्षति नभएको थामेगाउँको बाढीले १० घरमा आंशिक पुर्याउँदा १३ घरलाई भने बगाएरै लग्यो । त्यस्तै: एक विद्यालय भवन, एक स्वास्थ्य क्लिनिक तथा दुई होटल पनि बाढीले बगायो । खुम्बु बिजुली कम्पनीको ड्याम क्षतिग्रस्त हुँदा नाम्चे क्षेत्र अन्धकारमय अवस्थामा छ अहिले पनि ।