राष्ट्रपतिसँग न्युजिल्याण्डका उपप्रधानमन्त्रीको भेट – New Zealand News Nepal (NZ News Nepal)

राष्ट्रपतिसँग न्युजिल्याण्डका उपप्रधानमन्त्रीको भेट

   May 29, 2025  

राष्ट्रपति रामचन्द्र पौडेलसँग न्युजिल्याण्डका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री विन्स्टन पिटर्सले राष्ट्रपति भवन शीतल निवासमा बुधबार शिष्टाचार भेट गरेका छन्  ।

सो अवसरमा राष्ट्रपति पौडेलले नेपाल सन् २०३० सम्ममा मध्यम आए भएको मुलुक बन्नेतर्फ अग्रसर भएकाले यो लक्ष्य हासिल गर्न व्यापार, लगानी र विकास सहकार्यका लागि आग्रह गरेको उनका प्रेस सल्लाहकार किरण पोखरेलले बताए ।

नेपाल र न्युजिल्याण्ड विभिन्न अन्तर्राष्ट्रिय विषयहरूमा साझा धारणासहित बहुपक्षीय मञ्चहरूमा सहकार्य गर्दै आएको स्मरण गर्दै उनले स्तरोन्नतितर्फको हाम्रो यात्रालाई दिगो बनाउन व्यापार, लगानी र विकास सहकार्यका सन्दर्भमा न्युजिल्याण्डबाट हामी सहयोगको अपेक्षा गर्छौँ भने ।

राष्ट्रपति पौडेलले जलवायु परिवर्तनको सङ्कटबाट दुवै देश मारमा परेको बताउँदै हिमालय क्षेत्रको जनजीवन  बचाउनका लागि मिलेर काम गर्न आग्रह गरेका थिए ।

न्युजिल्याण्डका पर्यटकले नेपाललाई एक पर्यटकीय गन्तव्य मुलुकको रूपमा पहिचान गरेको उनको भनाइ थियो । न्युजिल्याण्डमा नेपालीहरूको अध्ययनका लागि उच्च शिक्षाको आकर्षक गन्तव्य बनेको सन्दर्भ उल्लेख गर्दै राष्ट्रपति पौडेलले त्यहाँ बसोबास गर्ने नेपाली बढेकाले दुई देशबीच जनस्तरमा सम्बन्ध बलियो बनाउन उनीहरूले महत्त्वपूर्ण भूमिका खेल्नु खुसीको विषय हो भने ।

कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै दुवै देशबीच मैत्रीपूर्ण द्विपक्षीय सम्बन्ध कायम रहँदै आएको र हाम्रो सम्बन्ध गाढा बनाउन सर एडमन्ड हिलारी र तेन्जिङ नोर्गेले सगरमाथाको पहिलो पटक कीर्तिमानी आरोहणले महत्त्वपूर्ण योगदान दिएको विदितै छ भन्दै उनले उक्त आरोहणको ७० औँ वार्षिकोत्सवमा दुवै देशले ‘सगरमाथा–७०’ मनाएकोमा खुसी प्रकट गरे ।

उनले दुवै देशका जनताबीच अन्तर्क्रिया एवं सम्बन्ध बढाउन सर एडमन्ड हिलारीले स्थापना गर्नुभएको हिमालयन ट्रस्टले खेलेको भूमिकाको प्रशंसा गर्दै यसले जनस्तरमा सम्बन्ध विस्तारमा सहयोग पुर्‍याएको छ भने ।

सो अवसरमा न्युजिल्याण्डका उपप्रधानमन्त्रीले संयुक्त राष्ट्रसङ्घको शान्ति स्थापना कार्यमा नेपालले पुर्‍याएको योगदानको प्रशंसा गर्दै अन्तर्राष्ट्रिय सम्बन्धमा साना देशहरूको भूमिका पनि महत्त्वपूर्ण हुनेमा आफूहरू विश्वस्त रहेको बताए ।

नेपाल न्युजिल्याण्डका जनताको लागि रमणीय देश भएकाले यहाँको भ्रमण गर्न पाउँदा खुसी लागेको उल्लेख गर्दै नेपाली विद्यार्थीहरूको लागि छात्रवृत्ति वृद्धि गरेर नेपालसँग शिक्षा र विकासको सम्बन्ध सुदृढ गर्न आफूहरूले चाहेको जानकारी दिए ।

उनले जलवायु परिवर्तनले ल्याएको सङ्कटप्रति आफूहरू सजग रहेको उल्लेख गर्दै यो समस्या समाधानका लागि सबै देशको सहभागिता जरुरी रहेको बताए । –रासस