संसदमा आज रवि लामिछानेले सम्बोधन गर्ने – New Zealand News Nepal (NZ News Nepal)

संसदमा आज रवि लामिछानेले सम्बोधन गर्ने

   April 2, 2026  

नव गठित प्रतिनिधिसभाको पहिलो अधिवेशन आजदेखि प्रारम्भ हुँदै छ।

सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवनको बहुद्देश्यीय सभाकक्षमा बिहीबार दिउँसो २ बजेका लागि प्रतिनिधिसभा बैठक आह्वान गरिएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले यही चैत १६ गते नेपालको संविधानबमोजिम मन्त्रिपरिषद्को सिफारिसमा आजका लागि सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका हुन्।

संसद् बैठक सञ्चालनका लागि भौतिक, सुरक्षा, प्राविधिक र जनशक्तिलगायत सम्पूर्ण तयारी पूरा भइसकेको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए। 

सङ्घीय संसद्अन्तर्गतको माथिल्लो सभा (राष्ट्रियसभा) को बैठक भने सङ्घीय संसद् सचिवालयस्थित राष्ट्रियसभा कक्षमै बस्नेछ। राष्ट्रिय सभाको बैठक पनि आजैदेखि सुरु हुँदैछ। 

राष्ट्रपतिले प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र सङ्घीय संसद्को अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था छ।

निर्वाचन आयोगले यही चैत ५ गते ‘प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ निर्वाचन परिणामसहितको प्रतिवेदन’ राष्ट्रपतिसमक्ष बुझाएको थियो।

दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी सबैभन्दा ठूलो दल छ। उसका १८२ सांसद छन्।

त्यसैगरि नेपाली कांग्रेसका ३८, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का २५, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का १७, श्रम संस्कृति पार्टीका सात, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पाँच र एक स्वतन्त्र सांसद (महावीर पुन)को प्रतिनिधित्व छ।

बैठकमा गृहमन्त्री सुधन गुरुङले ‘मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२’ र ‘नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश २०८२’ पेस गर्ने सम्भावित कार्यसूची तय भएको छ।

त्यसअघि बैठकमा सभाका ज्येष्ठ सदस्यरसभामुख अर्जुननरसिंह केसीले राष्ट्रपतिबाट प्राप्त अधिवशेन आह्वानसम्बन्धी पत्र तथा राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रधानमन्त्री पदमा नियुक्ति तथा मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रहरुको बेहोरा पढेर सुनाउने कार्यसूची छ।

आजको बैठकको सुरुमा जेन–जी आन्दोलन र अन्य आन्दोलनका सहिदप्रति श्रद्धाञ्जली व्यक्त गरिनेछ। आजको बैठकमा तीन अध्यादेश पेस गर्ने कार्यसूची छ। 

बैठकमा सभामुखले नेपालको संविधानको धारा, १०४ बमोजिम प्रतिनिधिसभाले आफ्नो नियमावली नबनाएसम्मका लागि प्रतिनिधिसभा नियमावली, २०७९ बमोजिम कामकारबाही गर्ने प्रस्ताव स्वीकृतिका लागि प्रस्तुत गर्नुहुने सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए।

बैठकमा प्रधानमन्त्री र मन्त्रीहरू पनि उपस्थित हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। आज सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सदस्यहरूको मनोनय गर्ने सम्भावित कार्यसूची पनि छ।

जेन–जी आन्दोलनपछि गठन भएको प्रतिनिधिसभाको आजको पहिलो बैठकमा विभिन्न दलका शीर्ष नेताहरूले सम्बोधन गर्दैछन्। 

दलको सिट संख्याको आधारमा हलमा सिट व्यवस्थापन गरिएको छ। सत्तापक्षलाई तीन रो र विपक्षीलाई दुई रो छुट्याइएको छ।

बैठकमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले आफ्नो शुभकामना मन्तव्य दिनेछन् । पहिलो बैठकले सभामुख र उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने अध्यक्षमण्डलको चयन गर्नेछ। यद्यपि, अध्यक्षमण्डलमा को रहने भन्ने टुंगो लागिसकेको छैन। 

ज्येष्ठ सदस्य केसीले शुभकामना मन्तव्य दिएपछि प्रतिनिधिसभाको पहिलो बैठकमा दलका शीर्ष नेता वा संसदीय दलका नेताले सम्बोधन गर्नेछन्। 

आजको बैठकका सत्तारुढ दल रास्वपाबाट सभापति रवि लामिछानेले सम्बोधन गर्नेछन्। 

त्यसैगरि कांग्रेसका भीष्मराज आङ्देम्बे वा मोहन आचार्य, एमालेबाट रामबहादुर थापा बादल, नेकपाबाट वर्षमान पुन, श्रम संस्कृतिबाट हर्क साम्पाङ र राप्रपाबाट ज्ञानेन्द्र शाही बोल्ने तय भएको छ। 

आजको बैठकमा नेकपाका संयोजन पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन नगर्ने नेकपाका नेता गोविन्द आचार्यले नेपालखबरलाई जानकारी दिए।

स्वतन्त्र सांसद महावीर पुनले पनि आज बोल्ने समय पाउनेछन्। रास्वपाका संदीय दलका नेता बालेन्द्र शाह (बालेन) प्रधानमन्त्री नियुक्त भएका छन् । एमालेबाट थापा हिजो मात्रै दलको नेता चयन भएका थिए। 

नेकपाबाट र राप्रपाबाट ज्ञानेन्द्र शाही संसदीय दलका नेता चयन भएका छन्। हालको संसद्को दोस्रो ठूलो दल कांग्रेसले भने अझै दलको नेता टुंग्याएको छैन। श्रम संस्कृति पार्टीले अध्यक्ष हर्क साम्पाङलाई नै दलको नेता चयन गर्ने तयारी गरे पनि औपचारिक रुपमा अझै निर्णय गरिसकेको छैन। 

सभामुखको निर्वाचन आइतबार 

आगामी आइतबार सभामुख चयनका लागि निर्वाचन हुने तय भएको छ। ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीको अध्यक्षतामा बुधबार बसेको सर्वदलीय बैठकले सभामुखको निर्वाचन २२ चैतमा गर्ने निर्णय गरेको हो। 

यो निर्णयको जानकारी बिहीबार बस्ने प्रतिनिधिसभाको पहिलो बैठकमा गराइनेछ। त्यसपछि सभामुख निर्वाचनको सूचना प्रकाशित हुनेछ।

संसद्को पहिलो बैठक बसेको मितिले १५ दिनभित्र सभामुख र उपसभामुख निर्वाचित गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ। 

संसद्को सबैभन्दा ठूलो दल रास्वपाका उपसभापति डीपी अर्याल सभामुख हुने पक्कापक्की जस्तैछ। सभामुख र उपसभामुख फरक दल र लिंगको हुनुपर्ने कानुनी व्यवस्था छ। 

तर, उपसभामुख कुन दललाई दिने भन्ने टुंगो अझै लागिसकेको छैन। उपसभामुख कांग्रेस वा नेकपाले पाउने सम्भावना छ।