न्युजिल्याण्डबाट अष्ट्रेलिया बसाइँ सर्ने मानिसको संख्या केही घटेको देखिएको छ। स्ट्याट्स न्युजिल्याण्ड (Stats NZ) ले सार्वजनिक गरेको प्रारम्भिक तथ्यांकअनुसार सन् २०२५ को डिसेम्बरसम्मको एक वर्षमा कुल २८ हजार ५०० जनाले न्युजिल्याण्ड छाडेर अष्ट्रेलियामा बसाइँ सरेका छन्।
यो संख्या अघिल्लो वर्षको तुलनामा कम हो। सन् २०२४ मा न्युजिल्याण्डबाट अष्ट्रेलियातर्फ ३१ हजार १०० जनाको शुद्ध बसाइँसराइ (नेट माइग्रेसन घाटा) भएको थियो।
स्ट्याट्स न्युजिल्याण्डका अन्तर्राष्ट्रिय बसाइँसराइसम्बन्धी प्रवक्ता डेभ ओ’डोनोभानका अनुसार सन् २०२५ मा अष्ट्रेलियाबाट न्युजिल्याण्ड आउनेको संख्या केही बढेका कारण दुवै देशबीचको शुद्ध बसाइँसराइ घाटा घटेको हो।
तथ्यांकअनुसार सन् २००४ देखि २०१३ सम्म न्युजिल्याण्डबाट हरेक वर्ष औसत ३० हजार मानिस अष्ट्रेलिया सर्ने गरेका थिए। त्यस्तै सन् २०१४ देखि २०१९ को अवधिमा यो औसत करिब ३ हजारमा झरेको थियो।
सन् २०१२ को मार्चसम्मको एक वर्षमा न्युजिल्याण्डले अष्ट्रेलियातर्फ ४३ हजार ७०० जनाको रेकर्ड शुद्ध बसाइँसराइ घाटा व्यहोरेको थियो। पछिल्लो तथ्यांक त्यसको तुलनामा उल्लेखनीय सुधार भएको मानिएको छ।
यसैबीच, स्ट्याट्स न्युजिल्याण्डले मे २०२५ मा न्युजिल्याण्ड आउने अन्तर्राष्ट्रिय पर्यटकको संख्या पनि बढेको जनाएको छ। मे महिनामा पर्यटक आगमन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६.६६ प्रतिशत अर्थात् १२ हजार ७०० जनाले वृद्धि भएको हो।
मे महिनामा न्युजिल्याण्ड भ्रमण गर्नेमध्ये चीन र अष्ट्रेलियाबाट आएका पर्यटकहरूले कुल आगन्तुकको आधाभन्दा बढी हिस्सा ओगटेका स्ट्याट्स न्युजिल्याण्डले जनाएको छ।


