न्युजिल्याण्डको टौराङ्गामा २०२६ जनवरीमा गएको घातक पहिरोबारे भइरहेको सरकारी छानबिनको अन्तिम प्रतिवेदन आगामी १८ फेब्रुअरी २०२७ मा सार्वजनिक हुने भएको छ। आन्तरिक मामिला मन्त्री ब्रुक भान भेल्डेनले छानबिनको प्रतिवेदन बुझाउने समय थप गरिएको जानकारी दिएकी हुन्।
सन् २०२६ जनवरीमा माउन्ट माउन्गानुई र वेलकम बे रोड, पापामोआमा गएको पहिरोमा परी आठ जनाको ज्यान गएको थियो। सो घटनापछि सरकारले पहिरो कसरी र किन भयो भन्ने विषयमा विस्तृत छानबिन सुरु गरेको थियो।
छानबिनको मुख्य उद्देश्य पहिरोका कारण र घटनाक्रम पहिचान गर्नुका साथै, पहिरो आउनुअघि सम्बन्धित सरकारी तथा अन्य निकायहरूले सम्भावित जोखिम व्यवस्थापन गर्न उचित कदम चालेका थिए कि थिएनन् भन्ने मूल्याङ्कन गर्नु हो। यसमा जोखिममा रहेका मानिसलाई समयमै चेतावनी दिने तथा आवश्यक परे सुरक्षित स्थानमा स्थानान्तरण गर्ने विषयसमेत समेटिएको छ।
त्यसैगरी, भविष्यमा यस्ता दुःखद घटना दोहोरिन नदिन अपनाउनुपर्ने उपाय र सिकाइ पहिचान गर्नु पनि छानबिनको महत्वपूर्ण उद्देश्य रहेको सरकारले जनाएको छ।
छानबिनका अध्यक्ष तथा अवकाशप्राप्त सर्वोच्च अदालतका न्यायाधीश सर मार्क ओ’रेगनले अन्तिम प्रतिवेदन बुझाउने समय थप गर्न सरकारसमक्ष अनुरोध गरेका थिए। प्रतिवेदन यसअघि सन् २०२६ को डिसेम्बरको सुरुआतमा बुझाउने समयसीमा तोकिएको थियो। मन्त्रिपरिषद्ले अध्यक्षको अनुरोध स्वीकार गर्दै समयसीमा १८ फेब्रुअरी २०२७ सम्म थप गरेको हो।
मन्त्री भान भेल्डेनका अनुसार, छानबिनले टौराङ्गा सिटी काउन्सिलले गराएको डेभिसन रिभ्युका निष्कर्षलाई समेत ध्यानमा राख्नुपर्नेछ। उक्त बाह्य समीक्षा सुरुमा ३० जुन २०२६ सम्म पूरा गर्ने लक्ष्य राखिए पनि दुई पटक समय थप भएपछि अन्ततः १९ अगस्ट २०२६ मा सार्वजनिक भएको थियो।
समयसीमा थपिँदा प्रतिवेदनको प्रतीक्षामा रहेका परिवार तथा प्रभावित समुदाय निराश हुन सक्ने सरकारलाई जानकारी रहेको मन्त्री भान भेल्डेनले बताएकी छन्। तर, पीडित परिवार र प्रभावित समुदायले घटनाबारे स्पष्ट जवाफ पाउनुपर्ने उल्लेख गर्दै सरकारले सम्पूर्ण र विस्तृत प्रतिवेदन प्राप्त गर्न समय थप गरिएको जनाएको छ।