आरजु सहित ओलीलाई भेट्न बालकोट पुगे देउवा – New Zealand News Nepal (NZ News Nepal)

आरजु सहित ओलीलाई भेट्न बालकोट पुगे देउवा

   June 30, 2024  

शनिबार दिउँसो कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको सिद्धिचरण हलमा पुष्पलाल जन्मजयन्ती समारोहको कार्यक्रम थियो। कार्यक्रममा सहभागी हुन हिजै चितवन पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड हतार हतार काठमाडौँ फर्किए। प्रधानमन्त्री प्रचण्डसहित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, सिपि गजुरेल, बामदेव गौतम, देव गुरुङ, सिपि मैनाली, नेत्र विक्रम चन्द विप्लव लगायतलाई निम्तो थियो।

प्रचण्ड भरतपुरमा धान दिवस मनाएर हतार हतार काठमाडौँ फर्कँदा भक्तपुरमै निवासमा रहेका एमाले अध्यक्ष ओली भने कमलादी पुगेनन्। कार्यक्रममा आयोजकले प्रमुख अतिथिको नामको सूची तयार पार्दै थियो। ओली नआइपुगेपछि उनको नामको पछाडि (आउन बाँकी) लेखियो।

एमाले उच्च स्रोतले नेपालखबरलाई दिएको जानकारी अनुसार, ओली कमलादीको कार्यक्रम छाडेर भक्तपुरको बालकोटस्थित निवासमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्तामा थिए।

ओलीलाई भेट्न देउवा दिउँसो साढे तीन बजे बालकोट पुगेको स्रोतको दाबी छ।

कम्युनिस्ट पार्टीका संस्थापक नेता पुष्पलालको कार्यक्रममा प्रचण्ड–माधव लगायतका नेताहरू कम्युनिस्ट एकताको ‘अपरिहार्यता’बारे चर्चा गरिरहँदा ओली भने विपक्षी गठबन्धनका सभापतिसँग भेटमा थिए।

उनीहरूबीच झण्डै दुई घन्टा लामो छलफल बालकोटमै बसेर भएको स्रोतको दाबी छ। यद्यपी कुराकानीका विषयहरू भने बाहिर ल्याउन खोजिएको छैन।

सत्ता गठबन्धन मुख्य घटक एमालेका अध्यक्ष ओली र कांग्रेस सभापति देउवाबीचको यो भेटघाटलाई अर्थपूर्ण रुपमा लिइएको छ।

देउवा पत्नि आरजू राणालाई लिएर बालकोट पुगेका थिए।