केपी ओली प्रधानमन्त्री बन्ने पक्का, राष्ट्रपतिद्वारा नयाँ सरकार गठनका लागि आह्वान – New Zealand News Nepal (NZ News Nepal)

केपी ओली प्रधानमन्त्री बन्ने पक्का, राष्ट्रपतिद्वारा नयाँ सरकार गठनका लागि आह्वान

   July 13, 2024  

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२) अनुसार नयाँ सरकार गठनका लागि दुई वा दुईभन्दा बढी दलहरूलाई आह्वान गरेका छन् ।

शुक्रबार राति एक वक्तव्य निकाल्दै राष्ट्रपति पौडेलले आइतबार साँझ ५ बजेसम्मका लागि समय दिएर सरकार गठनको आह्वान गरेका हुन् ।

प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत नपाएर स्वतः पदमुक्त भएपछि राष्ट्रपतिले नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन् ।

यसअघि नेपाली कांग्रेस र नेकपा एमालेले उपधारा २ अनुसार नै सरकार बन्ने बताएका थिए । त्यसअनुसार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधामनमन्त्री हुनेछन् ।

कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले केपी शर्मा ओली संविधानको धारा ७६ (२) अनुसार नै प्रधानमन्त्री हुनेमा कुनै समस्या नरहेको बताएका थिए ।

राष्ट्रपति रामचन्द्र पौडेलबाट नयाँ सरकार गठनका लागि आह्वान भएपछि नयाँ प्रधानमन्त्रीका लागि दाबी पेस गर्न नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले)सहितका दलहरू शीतल निवास जाँदैछन् ।