काभा नेसन्स लिगको उपाधि भारतलाई – New Zealand News Nepal (NZ News Nepal)

काभा नेसन्स लिगको उपाधि भारतलाई

   August 8, 2024  

सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) नेसन्स लिगको उपाधि पुनः भारतले उचालेको छ।

राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भर्खरै सकिएको प्रतिस्पर्धात्मक फाइनल खेलमा डिफेन्डिङ च्याम्पियन भारतले नेपाललाई ३–२ सेटले पराजित गर्दै लगातार उपाधि उचालेको हो।

पहिलोपटक काभा नेसन्स लिगको उपाधि उचाल्ने नेपालको सपना पुनः चकनाचुर भएको छ। सन् २०१९ मा पनि नेपाल उपाधिको नजिक पुगेर चुकेको थियो।

लिग चरणमा भारतविरुद्ध ऐतिहासिक जित निकालेको नेपाल फाइनलमा भने अन्तिम सेटमा निराश बन्न पुग्यो। खेलको पहिलो सेटमा नेपालले नै अग्रता लिएको थियो।

नेपालले पहिलो सेटमा भारतलाई २५–२३ मा पराजित गरेको थियो। दोस्रो सेटमा भने भारतले सानदर पुनरागमन गर्दै नेपालमाथि २५–१४ को जित निकालेको थियो।

तेस्रो सेटमा नेपालले स्वभाविक लयमा फर्किंदै भारतलाई २५–२२ ले पराजित गरेको थियो।

तर, चौथो सेटमा आफ्नो जितको लय गुमाउँदै २१–१८ ले सेट भारतलाई सुम्पन बाध्य भयो।

त्यसपछि अन्तिम सेटमा भारत पूरै हावी हुन पुग्यो। सुरुदेखि नै अग्रता लिएको भारतले अन्तिमसम्म नै नेपाललाई पुनरागमनको मौका दिएन र सेट १५–५ ले जित्यो र उपाधि आफ्नो पोल्टामा पार्यो।