आईसीसी क्रिकेट विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, न्युजिल्याण्ड समूह ‘बी’ मा

59 Shares

दक्षिण अफ्रिका, जिम्बाबे र नामिबियामा संयुक्त रूपमा आयोजना हुने आईसीसी एकदिवसीय क्रिकेट विश्वकप २०२७ को समूह विभाजन र खेलतालिका सार्वजनिक भएको छ। दक्षिण अफ्रिकाको केप टाउनमा बिहीबार आयोजित कार्यक्रममा आईसीसीले विश्वकपको समूह संरचना र खेलतालिका सार्वजनिक गरेको हो। सार्वजनिक समूह विभाजनअनुसार समूह ‘ए’ मा अफगानिस्तान, अस्ट्रेलिया, भारत, पाकिस्तान, जिम्बाबे र विश्वकप छनोटबाट आउने एक टोली रहेका छन्। त्यस्तै समूह ‘बी’ मा इंग्ल्यान्ड, न्युजिल्यान्ड, दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र छनोटबाट आउने अर्को एक टोली रहनेछन्। विश्वकपको समूह चरणमै क्रिकेट समर्थकले बहुप्रतीक्षित भारत र अस्ट्रेलियाबीचको भिडन्त हेर्न पाउने भएका छन्। सन् २०२३ मा भारतमै भएको विश्वकपको फाइनलमा अस्ट्रेलियाले भारतलाई पराजित गर्दै छैटौँपटक एकदिवसीय विश्वकपको उपाधि जितेको थियो। त्यसैले २०२७ को समूह चरणमा हुने यी दुई टोलीबीचको खेललाई विशेष रूपमा हेरिएको छ। यस्तो हुनेछ २०२७ विश्वकपको फर्म्याट २०२७ को विश्वकपमा नयाँ ढाँचा लागू गरिएको छ। ओडीआई वरियताका शीर्ष आठ टोलीसँगै सहआयोजक दक्षिण अफ्रिका र जिम्बाबे ले सिधै मुख्य समूह चरणमा स्थान बनाएका छन्। विश्वकप छनोट प्रतियोगिताको विजेता टोली पनि मुख्य समूह चरणमा प्रवेश गर्नेछ। यससँगै मुख्य समूह चरणमा सुरुमा ११ टोली निश्चित हुनेछन्। छनोट प्रतियोगितामा दोस्रो, तेस्रो र चौथो स्थान हासिल गर्ने टोलीले भने विश्वकपको प्रारम्भिक चरण ‘सुपर सिरिज’ खेल्नुपर्नेछ। सुपर सिरिजमा तीन टोलीबीच दुई–दुई खेल हुनेछन्। उक्त चरणबाट शीर्ष स्थानमा रहने टोली मात्र मुख्य समूह चरणमा प्रवेश गर्नेछ भने बाँकी दुई टोली विश्वकपबाट बाहिरिनेछन्। मुख्य समूह चरणमा १२ टोलीलाई दुई समूहमा विभाजन गरिनेछ। प्रत्येक समूहबाट शीर्ष तीन टोली ‘सुपर ७’ चरणमा पुग्नेछन्। त्यस्तै दुवै समूहका बाँकी टोलीमध्ये उत्कृष्ट प्रदर्शन गर्ने थप एक टोलीले पनि सुपर ७ मा स्थान बनाउनेछ। सुपर ७ चरण राउन्ड रोबिन ढाँचामा सञ्चालन हुनेछ। त्यस चरणबाट शीर्ष चार टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्। सेमिफाइनलका विजेताबीच विश्वकपको फाइनल खेल हुनेछ। विश्वकप छनोटमा १० टोली विश्वकप छनोट प्रतियोगितामा कुल १० टोली सहभागी हुनेछन्। सहआयोजकबाहेक ओडीआई वरियताका दुई पूर्ण सदस्य राष्ट्र, आईसीसी क्रिकेट विश्वकप लिग–२ का शीर्ष चार टोली तथा विश्वकप छनोट प्लेअफबाट आउने चार टोलीले छनोट प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन्। विश्वकप छनोट प्लेअफमा लिग–२ का पुछारमा रहने चार टोली र च्यालेन्ज लिगका चार टोलीबीच प्रतिस्पर्धा हुनेछ। त्यहाँबाट शीर्ष चार टोली विश्वकप छनोट प्रतियोगितामा पुग्नेछन्। नेपालका लागि पनि विश्वकपको बाटो खुला नेपाली क्रिकेट टोलीका लागि पनि २०२७ विश्वकपसम्म पुग्ने सम्भावना कायम रहनेछ। नेपालले विश्वकप छनोट प्लेअफमा स्थान बनाएर त्यहाँबाट छनोट प्रतियोगितामा प्रवेश गर्न सके विश्वकपको मुख्य चरणसम्म पुग्ने बाटो खुल्नेछ। विश्वकप छनोट प्रतियोगिताको विजेताले सिधै मुख्य समूह चरणमा स्थान बनाउनेछ। छनोटमा शीर्ष स्थान हासिल गर्न नसके पनि निर्धारित स्थानसम्म पुग्ने टोलीले थप चरणमार्फत विश्वकपको मुख्य समूहमा प्रवेश गर्ने अवसर पाउनेछन्। यसरी हेर्दा नेपालका लागि २०२७ विश्वकपसम्म पुग्न प्लेअफ → विश्वकप छनोट → मुख्य समूह चरण हुँदै अघि बढ्नुपर्ने चुनौतीपूर्ण यात्रा हुनेछ। नेपाली टोलीले प्रत्येक चरणमा उत्कृष्ट प्रदर्शन गर्न सके विश्व क्रिकेटको सबैभन्दा ठूलो मञ्चमा पुनः स्थान बनाउन सक्नेछ।

सम्बन्धित समाचार

सबै