नेपाल: बाढी, पहिरोलगायतका विपदमा परी हालसम्म १९० जनाको मृत्यु – New Zealand News Nepal (NZ News Nepal)

नेपाल: बाढी, पहिरोलगायतका विपदमा परी हालसम्म १९० जनाको मृत्यु

   August 21, 2024  

अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपद्मा परी सोमबार दिउँसोसम्म एक सय ९० जनाको मृत्यु भएको छ ।

विपद्मा परी काठमाडौँ उपत्यकामा तीन, कोशी प्रदेशमा २७, मधेस प्रदेशमा आठ, बागमती प्रदेशमा ३२, गण्डकी प्रदेशमा ५६, लुम्बिनी प्रदेशमा ३६, कर्णाली प्रदेशमा १३ र सुदूरपश्चिम प्रदेशमा १५ गरी एक सय ९० जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ ।

 आज नेपाल प्रहरीले जारी गरेको तथ्याङ्कअनुसार काठमाडौँ उपत्यकामा ११, कोशी प्रदेशमा ३८, मधेस प्रदेशमा १२, बागमती प्रदेशमा २३, गण्डकी प्रदेशमा ४५, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा ५७ र सुदूरपश्चिम प्रदेशमा ३४ गरी दुई सय ३८ जना घाइते भएका छन् । 

साथै  काठमाडौँ उपत्यकामा २८, कोशी प्रदेशमा ४९, बागमती प्रदेशमा १२, गण्डकी प्रदेशमा १४, लुम्बिनी प्रदेशमा चार, कर्णाली प्रदेशमा दुई र सुदूरपश्चिम प्रदेशमा पाँच गरी एक  सय १४ जनाको उद्धार गरिएको छ । बाढीपहिरोमा परी कोशी प्रदेशमा दुई, मधेस प्रदेशमा एक, बागमती प्रदेशमा ४१, गण्डकी प्रदेशमा दुई, लुम्बिनी प्रदेशमा एक, कर्णाली प्रदेशमा एक र सुदूरपश्चिम प्रदेशमा एक गरी ४९ जना बेपत्ता भएका छन् ।

बाढीको कारण जम्मा तीन सय ८४ घर डुबानमा परेका छन् भने तीन सय २७ वटा घर, एक सय १२ वटा गोठ, ५१ वटा पुल, चार वटा विद्यालय र दुई वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । साथै विपद्मा परी आठ सय ५२ वटा पशु चौपायाको मृत्यु भएको छ । उक्त अवधिमा विपद्का घटनाबाट चार हजार आठ सय १९ घर परिवार विस्थापित भएका छन् ।