‘एनजेड न्युज नेपाल’ आजबाट चौथो वर्षमा प्रवेश – New Zealand News Nepal (NZ News Nepal)

‘एनजेड न्युज नेपाल’ आजबाट चौथो वर्षमा प्रवेश

   August 25, 2024  

न्युजिल्याण्ड र नेपालबाट संयुक्त रुपमा संचालन भईरहेको न्युजिल्याण्ड कै पहिलो नेपाली भाषाको अन्लाईन न्युज पोर्टल न्युजिल्याण्ड न्युज नेपाल NZ News Nepal आजबाट चौथो वर्षमा प्रवेश गरेको छ ।

सन् २०२१ अगस्त २५ तारिकका दिन बाट यस अन्लाईनको औपचारिक डिजिटल प्रकाशन सुरु भएको थियो ।

न्युजिल्याण्डका समाचार नेपाली भाषामा, नेपालका समाचार र विश्वभरका समाचार NZ News Nepal मा पढ्न सकिने छ ।

नेपालमा ६ वर्ष रेडियो तथा अन्लाईन संचारकर्ममा लाग्नु भएका विराटनगरका आशिष भट्टराईले ३ वर्ष अगाडि NZ News Nepal को स्थापना गर्नु भएको थियो । भट्टराई NZ News Nepal को निर्देशक हुनुहुन्छ । सन् २०१९ मा न्युजिल्याण्ड आउनु भएका भट्टराईले यहाँ कुनै नेपाली अन्लाईन न्युज पोर्टल नभएको थाह पाएपछि NZ News Nepal को स्थापना गर्नु भएको हो ।

सन् २०२० देखि नै बिभिन्न फेसबूक पेजमा न्युजिल्याण्डका खबर नेपाली भाषामा पोस्ट गरेपनि दर्ता प्रकृयाका कारण  NZ News Nepal को संचालन भने सन् २०२१ देखि भएको हो ।  बिशेष गरि कोरोना कालमा न्युजिल्याण्डमा भईरहेका गतिबिधी नेपाली भाषामा प्रकाशन गर्न सुरु गरिएको थियो । दैनिक संक्रमणको अवस्था, लकडाउन, सरकारको निति तथा योजना आदि बिषयमा भट्टराईले न्युजिल्याण्डमा रहेका नेपालीलाई नेपाली भाषामा जानकारी गराउनु हुन्थ्यो ।

NZ News Nepal को समाचार संयोजकमा पत्रकार सुष्मा बाराईली हुनुहुन्छ । सल्लाहकारमा बेलायत बसोबास गर्ने अभिषेक उप्रेती, सम्पादकमा अष्ट्रेलियाका सिद्दान्त धिताल हुनुहुन्छ । त्यस्तै नेपालमा न्युज डेस्कमा बसेर युवा संचारकर्मीहरु निरज काफ्ले, दिलिप खड्का र अन्जली शाहले NZ News Nepal मा सहयोग गरिरहनु भएको छ ।

NZ News Nepal ले ३ वर्षको अवधिमा न्युजिल्याण्डमा डिजिटल मिडियालाई विश्वसनीय र व्यावसायिक रुपमा स्थापित गर्न आफ्नो ठाउँबाट महत्वपूर्ण भूमिका खेलेको छ । बिशेष गरि न्युजिल्याण्डमा भएका गतिबिधीहरु नेपाली भाषामा पढ्न पाउदा पाठक वर्गमा पनि उत्साह देखिएको छ । ३ वर्षमा पाठक र शुभेच्छुकहरूबाट पाएका सुझाव र प्रतिक्रियाले हामीलाई थप सशक्त रुपमा अगाडि बढ्न उर्जा दिइरहेको छ।

चौथो वर्ष प्रवेशको यो अवसरमा हामी सबै पाठक, शुभेच्छुक र व्यावसायिक संस्थाहरूलाई फेरि पनि धन्यवाद दिन चाहन्छौँ, जसले आफ्नो विश्वास र सहयोगलाई निरन्तरता दिईरहनु भएको छ ।