सरकारले दुई तिहाइको दम्भ देखाए सडकमा जान्छौं : प्रचण्ड – New Zealand News Nepal (NZ News Nepal)

सरकारले दुई तिहाइको दम्भ देखाए सडकमा जान्छौं : प्रचण्ड

   August 29, 2024  

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस-एमालेले दुई तिहाइको दम्भ देखाए सडकमा जाने चेतावनी दिएका छन्।

धनगढीमा बिहीबार पत्रकारहरूसँग बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले आफूले हालै संसदमा यस विषयमा खबरदारी गरेको उल्लेख गरे।

‘दुई तिहाइको घमन्ड नगर्नुस् सुध्रिनुस् भनेर मैले अस्ति संसदमा सम्झाएको मात्र छु।’ प्रचण्डले भने, ‘अलि बढि गर्नुभयो भने हामी सडकमा जान्छौं।’

आफ्नो नेतृत्वको सरकारले गरेका काम जनताले बुझेको भन्दै प्रचण्डले अहिले एमाले–कांग्रेस रक्षात्मक हुनुपर्ने अवस्थामा पुगेको बताए। कांग्रेस-एमालेले संविधानमा घात गर्न सक्ने उनको आशंका छ।

‘उहाँहरूले संविधानमा घात गर्नुहुन्छ कि भन्ने आशंका छ। उहाँहरू पछाडि लैजान चाहनुहुन्छ। साँच्चै भन्दा उहाँहरूले संविधान हेर्दा जतासुकै माओवादी देख्नुहुन्छ’, प्रचण्डले भने, ‘समावेशी भने पनि माओवादी, समानुपातिक भने पनि माओवादी, दलित, महिला, मुस्लिम भने पनि माओवादी, गणतन्त्र भने पनि माओवादी भनेपछि कसरी माओवादीलाई ठीक गर्ने भन्ने परेको छ।’