आज उनी श्रीलंकाको भ्रमण सकेर नेपाल प्रस्थान गर्न लागेका हुन्। नेपालको दुई दिने भ्रमण सकेर उनी भोलि भारत जाने कार्यक्रम रहेको छ।
न्यूजिल्याण्डका उपप्रधानमन्त्री तथा विदेश मन्त्री विन्स्टन पीटर्स आज नेपालको दुईदिने औपचारिक भ्रमणमा आउँदै छन्। यो नेपाल भ्रमण कुनै पनि न्यूजिल्याण्डका उपप्रधानमन्त्री तथा विदेश मन्त्रीद्वारा गरिएको पहिलो औपचारिक भ्रमण हो। भ्रमणको क्रममा, उपप्रधानमन्त्री पीटर्सले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्नेछन्। त्यसैगरी, विदेश मन्त्री डा. अर्जु राणा देउवासँग द्विपक्षीय वार्ता पनि गर्ने कार्यक्रम छ। भ्रमणको दोस्रो दिन, मे २९ मा, उनले खुम्बु क्षेत्रका खुम्जुङ र खुम्दे गाउँहरू भ्रमण गर्नेछन्। यो भ्रमण सगरमाथा दिवसको अवसरमा हुँदैछ, जुन तेन्जिङ नोर्गे र सर एडमण्ड हिलारीले सगरमाथा आरोहण गरेको ७२औं वार्षिकोत्सव पनि हो। यसले नेपाल र न्यूजिल्याण्डबीचको ऐतिहासिक सम्बन्धलाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ। यो भ्रमणले नेपाल–न्यूजिल्याण्ड सम्बन्धमा नयाँ ऊर्जा थप्ने र व्यापार, शिक्षा, पर्यटन तथा सांस्कृतिक सहकार्यका सम्भावनाहरूमा छलफल गर्ने अवसर प्रदान गर्नेछ।


