न्यूजिल्याण्डका उपप्रधानमन्त्री तथा विदेशमन्त्री विन्स्टन पिटर्स दुईदिने औपचारिक भ्रमणका लागि आज काठमाडौँ आइपुगेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले स्वागत गरे।
परराष्ट्र मन्त्रालयका अनुसार उपप्रधानमन्त्री पिटर्सले आजै राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम तय भएको छ।
साँझ परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम पनि रहेको छ। भेटवार्तापछि संयुक्त पत्रकार सम्मेलनको आयोजना हुनेछ। साथै, परराष्ट्रमन्त्री डा. राणाले उपप्रधानमन्त्री पिटर्सको सम्मानमा रात्रिभोजको आयोजना गर्नेछिन्।
उपप्रधानमन्त्री पिटर्सको यो पहिलो नेपाल भ्रमण हो। यस भ्रमणलाई नेपाल–न्यूजिल्याण्ड सम्बन्ध सुदृढ बनाउने अवसरको रूपमा हेरिएको छ।


