पत्रकार जगदीश खरेलदेखि महावीर पुनसम्म, पाँच मन्त्रीहरूको शपथ आज – New Zealand News Nepal (NZ News Nepal)

पत्रकार जगदीश खरेलदेखि महावीर पुनसम्म, पाँच मन्त्रीहरूको शपथ आज

   September 22, 2025  

प्रधानमन्त्री सुशीला कार्कीले ५ जना मन्त्रीहरूको नाम राष्ट्रपति समक्ष सिफारिस गरेकी छिन् ।

उनले आफ्नो समूहमा साँझ गहन छलफल गरेपछि पूर्वन्यायाधीश अनिल कुमार सिन्हा, पत्रकार जगदीश खरेल, अतिरिक्त सचिव डा.संगिता मिश्रा, वैज्ञानिक महावीर पुन र तत्कालीन राज्‍य पुनर्संरचनाका संयोजक समेत रहेका डा. मदन परियारलाई मन्त्रीमा नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेकी हुन् । सिफारिस भएका मन्त्रीहरूको नियुक्ति र शपथ आज हुने राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

उद्योगमन्त्रीमा सर्वोच्च अदालतका पूर्वन्यायाधीश सिन्हा र स्वास्थ्यमन्त्रीमा मन्त्रालयकी अतिरिक्त सचिव मिश्र सिफारिस भएका छन्।

त्यस्तै परियार कृषिमन्त्रीमा र पत्रकार खरेल सञ्चारमन्त्री नियुक्तिका लागि सिफारिस भएका छन्। पुनले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भएका छन्। पुन राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक हुन्।

यसअघि अर्थमन्त्रीमा रामेश्वर खनाल, ऊर्जामन्त्रीमा कुलमान घिसिङ र गृहमन्त्रीमा ओमप्रकाश अर्याल नियुक्त भइसकेका छन्।

प्रधानमन्त्री कार्कीले  राजनीतिक दल भन्दा बाहिरका व्यक्तिलाई मन्त्री बनाएकी हुन् । यसै अन्तर्गत उनले विषयगत क्षेत्रका  दलमा आबद्ध नभएका व्यक्तिलाई मन्त्रीमा सिफारिस गरेकी हुन् ।