आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सर्लाही जिल्लामा नेपाली सेनाले सुरक्षा गस्ती सुरु गरेको छ। निर्वाचनको सुरक्षालाई थप मजबुत बनाउने उद्देश्यले सदरमुकाम मलङ्गवासहित जिल्लाका संवेदनशील क्षेत्रहरूमा बिहीबारदेखि सेनाको टोलीले पैदल गस्ती (फ्ल्याग मार्च) थालेको हो।
सरकारले निर्वाचन सुरक्षाका लागि देशभर करिब ८० हजार सैनिक परिचालन गर्ने निर्णय गरेसँगै सर्लाहीमा पनि सेनाको उपस्थिति बढाइएको छ। यसले निर्वाचन अवधिभर शान्ति, सुव्यवस्था र मतदाताको सुरक्षामा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
सेनाले नियमित गस्तीका साथै विभिन्न निर्वाचन क्षेत्रहरूमा ‘सुरक्षा बेस’ स्थापना गर्ने कामसमेत अघि बढाएको छ। सुरक्षा निकायहरूको संयुक्त समन्वयमा भइरहेको यस पहलले कुनै पनि अवाञ्छित गतिविधि नियन्त्रणमा राख्न सहयोग पुग्ने स्थानीय प्रशासनले जनाएको छ।


