न्युजिल्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनमाथि राजनीतिक दबाब बढ्दै गएको देखिएको छ। नयाँ सार्वजनिक मत सर्वेक्षणले सत्तारुढ दल नेशनल पार्टीको लोकप्रियता उल्लेखनीय रूपमा घटेको देखाएको छ।
करदाताहरूको सङ्घ (Taxpayers’ Union) र क्युरिया मार्केट रिसर्चले गरेको नयाँ सर्वेक्षणअनुसार नेशनल पार्टीको समर्थन घटेर २८.४ प्रतिशतमा झरेको छ। यो अघिल्लो महिनाको सर्वेक्षणको तुलनामा झन्डै ३ प्रतिशतले कमी हो।
त्यसैगरी विपक्षी लेबर पार्टीको समर्थन भने केही बढेर ३४.४ प्रतिशत पुगेको छ। अन्य दलहरूमध्ये ग्रीन पार्टीको समर्थन १०.५ प्रतिशत, एक्ट पार्टीको ७.५ प्रतिशत र ते पाटी माओरीको ३.२ प्रतिशत पुगेको छ।
यसैबीच न्युजिल्याण्ड फर्स्ट पार्टीको समर्थन भने केही घटेर ९.७ प्रतिशतमा पुगेको सर्वेक्षणले देखाएको छ।
यी नतिजाका आधारमा संसद्को सिट वितरण हेर्दा केन्द्र–वाम गठबन्धनले ६१ सिट जितेर सरकार बनाउन सक्ने अवस्था देखिएको छ। यता हालको सत्तारुढ गठबन्धन भने ५९ सिटमा सीमित हुने सम्भावना देखिएको छ।
सर्वेक्षणमा विभिन्न नीतिगत क्षेत्रमा कुन दल राम्रो व्यवस्थापक हो भन्ने विषयमा पनि प्रश्न सोधिएको थियो। आर्थिक अवस्था र सरकारी खर्च व्यवस्थापनमा नेशनल पार्टी अगाडि देखिएको छ। तर स्वास्थ्य, गरिबी न्यूनीकरण, मुद्रास्फीति नियन्त्रण, शिक्षा, सार्वजनिक सुरक्षा, आवास, वातावरण तथा कर नबढाउने विषयमा भने लेबर पार्टीलाई बढी विश्वास गरिएको पाइएको छ।
यो सर्वेक्षण न्युजिल्याण्डभरिका १,००० मतदातामाझ मार्च १ देखि मार्च ३ सम्म गरिएको थियो। सर्वेक्षणको त्रुटि सीमा प्लस–माइनस ३.१ प्रतिशत रहेको बताइएको छ।


