कुक आइल्यान्ड्सका प्रधानमन्त्री न्युजिल्याण्डमा, प्रधानमन्त्री लक्सनलाई नभेट्ने – New Zealand News Nepal (NZ News Nepal)

कुक आइल्यान्ड्सका प्रधानमन्त्री न्युजिल्याण्डमा, प्रधानमन्त्री लक्सनलाई नभेट्ने

   March 20, 2026  

कुक आइल्यान्ड्सका प्रधानमन्त्री मार्क ब्राउन हाल आओटेआरोआ (न्युजिल्याण्ड) भ्रमणमा रहेका छन्, तर उनले आफ्ना न्युजिल्याण्डका समकक्षी क्रिस्टोफर लक्सनलेसँग औपचारिक भेटवार्ता नगर्ने भएका छन्। बुधबार वेलिङ्टनस्थित ताकिना इभेन्ट्स सेन्टरमा आयोजित एक औपचारिक कार्यक्रममा सम्बोधन गरेपछि उनी अकल्याण्ड पुगेर कुक आइल्यान्ड्स मूलका समुदायसँग भेटघाटमा व्यस्त रहेका छन्।

उक्त कार्यक्रममा विभिन्न उच्चपदस्थ व्यक्तित्वहरूको उपस्थितिमा बोल्दै ब्राउनले आफ्नो देश “राष्ट्र निर्माणको यात्रामा” अन्तर्राष्ट्रिय रूपमा प्रभाव विस्तार गर्दै गएको बताए। उनले आफ्नै नीति र हितअनुसार अघि बढ्ने चाहनाले कुक आइल्यान्ड्सको अन्तर्राष्ट्रिय सहभागिता बढ्दै गएको उल्लेख गरे।

न्युजिल्याण्ड–कुक आइल्यान्ड्सबीचको स्वतन्त्र सहकार्य सम्झौताको ६०औँ वार्षिकोत्सवको सन्दर्भ उठाउँदै उनले यस सम्बन्धको स्वरूप पुनः मूल्याङ्कन गर्नुपर्ने अवस्था आएको संकेत गरे। “कहिलेकाहीँ हामीले हाम्रो स्वतन्त्र रूपमा आबद्ध राज्यहरूबीचको परम्परा र विकसित समझदारी अझै मेल खान्छ कि छैन भनेर सोच्नुपर्ने हुन्छ,” उनले भने, “अहिले हामी त्यस्तै मोडमा छौँ।”

यसैबीच, न्युजिल्याण्डका विदेशमन्त्री विन्स्टन पिटर्सले अकल्याण्डस्थित आफ्नै निवासमा ब्राउनसँग अनौपचारिक भेट गरेका छन्। चार दिनअघि मात्र पिटर्सको कार्यालयले ब्राउनसँग भेट्ने कुनै योजना नरहेको जनाएको थियो।

दुवै नेताले संयुक्त वक्तव्य जारी गर्दै पछिल्लो १८ महिनादेखि न्युजिल्याण्ड–कुक आइल्यान्ड्स सम्बन्धमा देखिएका “मूलभूत चुनौतीहरू”बारे छलफल भएको जनाएका छन्। यद्यपि उक्त भेटबाट कुनै ठोस निष्कर्ष भने निस्किएको छैन।

वक्तव्यअनुसार दुवै देशबीचको राजनीतिक संवाद आगामी केही सातासम्म निरन्तर रहनेछ, जसबाट हाल देखिएका समस्याहरू समाधान गर्ने सम्भावनाबारे थप स्पष्टता आउने अपेक्षा गरिएको छ। यसबीच, दुवै सरकार यस विषयमा थप टिप्पणी नगर्ने सहमतिमा पुगेका छन्।

यता, न्युजिल्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनले भने ब्राउनसँग कुनै पनि स्तरमा भेट नगर्ने स्पष्ट पारेका छन्। उनले यस विषयलाई सरकारी अधिकारीहरूको तहबाटै अगाडि बढाउन उपयुक्त हुने बताएका छन्।

लक्सनले भने, “अन्ततः हामी सकारात्मक निष्कर्षमा पुग्नेमा विश्वस्त छु। पछिल्लो समय केही प्रगति पनि भएको छ, तर अबको प्रक्रिया अधिकारीहरूले नै सम्हाल्नेछन्।”