अष्ट्रेलिया भ्रमणको तयारीमा भारतीय प्रधानमन्त्री मोदी – New Zealand News Nepal (NZ News Nepal)

अष्ट्रेलिया भ्रमणको तयारीमा भारतीय प्रधानमन्त्री मोदी

   March 24, 2026  

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अष्ट्रेलिया भ्रमणका लागि उच्चस्तरीय तयारी सुरु भएको छ। यो उनको अष्ट्रेलियाको तेस्रो भ्रमण हुने बताइएको छ।

विश्वसनीय स्रोतहरूका अनुसार जुलाईमा हुने यो भ्रमण मुख्य रूपमा सिड्नी केन्द्रित रहनेछ, भने मेलबर्न यसपटक पनि भ्रमण सूचीमा नपर्न सक्ने देखिएको छ।

यद्यपि, द्रुत रूपमा परिवर्तन भइरहेको विश्व राजनीतिक अवस्थाले भ्रमणमा असर पार्न सक्ने सम्भावना रहेको स्रोतहरूले बताएका छन्। “हालसम्म सबै तयारी सकारात्मक रूपमा अघि बढिरहेको छ,” एक स्रोतले जानकारी दिएको छ।

हाल अष्ट्रेलिया वा भारतको तर्फबाट औपचारिक घोषणा नभए पनि विभिन्न स्रोतहरूले भ्रमणको पुष्टि गरेका छन्।

यस भ्रमणमा अष्ट्रेलियाबाट आपूर्ति हुने महत्वपूर्ण खनिज (क्रिटिकल मिनरल्स) मुख्य एजेन्डामा रहने अपेक्षा गरिएको छ। स्वच्छ ऊर्जा र उन्नत प्रविधिको क्षेत्रमा भारत–अष्ट्रेलिया सहकार्यलाई बलियो बनाउने लक्ष्य राखिएको छ।।

यसअघि सन् २०१४ र २०२३ मा पनि उनले सिड्नीस्थित Qudos Bank Arena मा हजारौंको उपस्थितिमा सम्बोधन गरेका थिए।

२०१४ को भ्रमणले भारत–अष्ट्रेलिया सम्बन्धमा नयाँ अध्याय सुरु गरेको थियो भने २०२३ को सम्बोधनले सम्बन्धको परिपक्वता र मजबुती झल्काएको थियो।

अब २०२६ को प्रस्तावित भ्रमणमा प्रधानमन्त्री मोदीको सन्देश केवल प्रवासी भारतीयका लागि मात्र होइन, विश्व राजनीतिक नेतृत्वका लागि पनि चासोको विषय बन्ने अपेक्षा गरिएको छ।