तुवालुका प्रधानमन्त्री न्युजिल्याण्डमा, बाढी प्रतिरोधात्मक कार्यका लागि न्युजिल्याण्डले २० मिलियन दिने – New Zealand News Nepal (NZ News Nepal)

तुवालुका प्रधानमन्त्री न्युजिल्याण्डमा, बाढी प्रतिरोधात्मक कार्यका लागि न्युजिल्याण्डले २० मिलियन दिने

   March 26, 2026  

न्युजिल्याण्ड सरकारले तुवालुमा बाढी प्रतिरोधात्मक (फ्लड रेजिलियन्स) कार्यका लागि थप २० मिलियन डलर सहयोग गर्ने घोषणा गरेको छ।

बिहीबार बिहान अकल्याण्डमा न्युजिल्याण्डका प्रधानमन्त्री Christopher Luxon र तुवालुका प्रधानमन्त्री Feleti Teo बीच भेटवार्ता भएको थियो। उक्त भेटमा दुवै नेताले अद्यावधिक साझेदारी सम्झौतामा हस्ताक्षर गरेका छन्।

भेटका क्रममा न्युजिल्याण्डले तुवालुलाई आगामी दिनमा कसरी सहयोग जारी राख्ने भन्ने विषयमा पनि छलफल भएको थियो। सन् २०२८ सम्ममा सम्भावित सन्धि गर्ने विषयमा पनि कुराकानी भए पनि यसको विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन।

विदेश मामिला तथा व्यापार मन्त्रालयको तथ्यांकअनुसार तुवालु कोस्टल एडाप्टेसन प्रोजेक्टका लागि दिइएको यो सहयोगले चालु आर्थिक वर्षमा न्युजिल्याण्डले प्रदान गर्ने सहायता दोब्बरभन्दा बढी बनाएको छ।

प्रधानमन्त्री लक्सनले तुवालुप्रति आफूलाई “अत्यन्तै सम्मान” रहेको बताएका छन्। उनले भने, “तुवालु समुद्री सतह बढ्दै जाँदा त्यसको सामना गर्ने विषयमा विश्वमै अग्रणी भूमिका खेलिरहेको छ, र प्रधानमन्त्री टियोको भूमि उचाल्ने तथा तटीय संरक्षण प्रयासलाई सहयोग गर्न पाउँदा हामी गर्व महसुस गर्छौं।”

उनले थपे, “हाम्रा जनता र हाम्रो क्षेत्रको भविष्य यस्तो प्रतिरोधात्मक क्षमतामा निर्भर छ। न्युजिल्याण्ड व्यवहारिक सहयोग गर्न सधैं तयार छ।”