न्युजिल्याण्ड सरकारले कोभिड–१९ जस्तो लकडाउनको अवस्था दोहोरिन नदिन अग्रिम तयारी गरिरहेको जनाएको छ। सरकारका तर्फबाट बोल्दै उपप्रधानमन्त्री डेभिड सीमोरले भविष्यमा नकारात्मक असर पार्न सक्ने जोखिमहरूलाई समयमै पहिचान गर्न आवश्यक रहेको बताए।
उनले भने, “हामी फेरि लकडाउनजस्तो अवस्था नआओस् भन्ने चाहन्छौं। त्यसैले अहिले नै सम्भावित समस्याहरू पहिचान गरेर समाधानतर्फ लागिरहेका छौं।”
सरकारले विशेषगरी इन्धन आपूर्तिमा देखिन सक्ने अवरोधबारे सरोकारवाला र प्रभावित पक्षसँग सुझाव मागेको छ। इन्धन ढुवानी, भण्डारण, वितरण, स्थानीय आपूर्ति, व्यवसाय सञ्चालन तथा बदलिँदो आपूर्ति अवस्थासँग छिटो अनुकूलन गर्न सक्ने क्षमतामा रहेका बाधाहरूबारे जानकारी दिन आह्वान गरिएको छ।
सीमोरका अनुसार आपूर्ति संकटको समयमा सानो ढिलाइले पनि ठूलो असर पार्न सक्छ। “यदि कुनै नियमले इन्धन आयात, भण्डारण वा वितरणमा समस्या गरिरहेको छ भने त्यसलाई अहिले नै पहिचान गर्नुपर्छ, समस्या चरम अवस्थामा पुगेपछि होइन,” उनले भने।
यससम्बन्धी सुझाव ‘मन्त्रालय फर रेगुलेसन’ को ‘रेड टेप टिपलाइन’ मार्फत दिन सकिने बताइएको छ।
हाल देशका अधिकांश स्थानमा पेट्रोल (९१) र डिजेलको मूल्य प्रतिलिटर ३ डलरभन्दा माथि पुगेको छ। केही पेट्रोल पम्पहरूमा छुटका दिन इन्धन अभाव समेत देखिएको छ।
मोटर ट्रेड एसोसिएसनका प्रवक्ता साइमन ब्राडवेलले मूल्यवृद्धिसँगै भुक्तानी नगरी इन्धन लिएर भाग्ने घटनाहरू बढ्न सक्ने चिन्ता व्यक्त गरेका छन्। उनले व्यवसायहरूले मूल्य घटाउन सक्दो प्रयास गरिरहेको पनि बताए।
यसैबीच, सरकारले करिब एक लाख ५० हजार बालबालिका भएका परिवारलाई इन्धन मूल्यवृद्धिको असर कम गर्न साप्ताहिक ५० डलर अतिरिक्त सहयोग दिने घोषणा गरेको छ।


