इस्टर, एन्ज्याक डे र क्रिसमसका अवसरमा मदिरा बिक्रीसम्बन्धी कडाइ केही सहज बनाउने विधेयक न्युजिल्याण्डको संसदबाट पारित भएको छ। उक्त विधेयकले Sale and Supply of Alcohol Act संशोधन गर्दै विशेष दिनहरूमा सञ्चालन भइरहेका व्यवसायलाई सामान्य लाइसेन्सका सर्तअनुसार मदिरा बिक्री गर्न अनुमति दिने व्यवस्था गरेको छ।
नयाँ व्यवस्थाअनुसार गुड फ्राइडे, इस्टर आइतबार, एन्ज्याक डे (बिहान) र क्रिसमस डेमा खुल्न पाउने होटल, बार तथा रेस्टुरेन्टहरूले अब सामान्य दिनझैँ मदिरा बिक्री गर्न सक्नेछन्। तर, मदिरा स्टोर (liquor shops) भने अझै पनि बन्द रहनेछन् र सुपरमार्केटमा मदिरा बिक्रीसम्बन्धी पुरानै प्रतिबन्ध कायम रहनेछ।
यो विधेयक ६६ मतको समर्थन र ५६ मतको विपक्षमा पारित भएको हो। लेबर पार्टीका सांसद कियरन म्याकअनल्टीले प्रस्ताव गरेको उक्त विधेयकले विशेषगरी आतिथ्य (hospitality) क्षेत्रमा कार्यरत कर्मचारीहरूका लागि नियम स्पष्ट बनाउने उद्देश्य राखेको बताइएको छ।