गृहमन्त्री सुधन गुरुङ अनुगमनका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन् । गृहमन्त्री गुरुङले विदेशबाट आउने यात्रुलाई अनावश्यक जाँच गरी दुःख नदिन सम्बन्धित निकायलाई स्पष्ट निर्देशन दिएका छन्। त्रिभुवन विमानस्थलमा पुगेका उनले सेवाग्राहीले भोग्दै आएको सास्तीप्रति गम्भीर ध्यानाकर्षण भएको बताए।
पटक–पटक सर्वसाधारणबाट गुनासो आएपछि गृहमन्त्री गुरुङ स्थलगत अनुगमनमा पुगेका हुन्। अनुगमनका क्रममा उनले विमानस्थलमा सेवा प्रवाहलाई छिटो, सहज र पारदर्शी बनाउन जोड दिए।
विदेशबाट दुःख गरेर स्वदेश फर्किएका नागरिकले विमानस्थलमै अनावश्यक झन्झट र जाँचका कारण हैरानी खेप्नुपर्ने अवस्था अन्त्य गर्नुपर्ने उनले बताए। “यात्रुको सम्मान र सुविधा पहिलो प्राथमिकता हुनुपर्छ,” उनले निर्देशन दिँदै भने।
सामान्य लत्ताकपडा तथा व्यक्तिगत प्रयोगका सामग्रीमा अनावश्यक जाँच नगर्न कर्मचारीलाई सचेत गराउँदै उनले गुनासो दोहोरिन नदिन कडाइका साथ काम गर्न आग्रह गरेका छन्।
सरकारले सेवा सुधारलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै गृहमन्त्री गुरुङले आगामी दिनमा पनि यस्ता अनुगमनलाई निरन्तरता दिने बताएका छन्।


