हर्मुज खोल्न अन्तर्राष्ट्रिय सहकार्यमा न्युजिल्याण्ड, बेलायतस्थित उच्चायुक्त बैठकमा सहभागि – New Zealand News Nepal (NZ News Nepal)

हर्मुज खोल्न अन्तर्राष्ट्रिय सहकार्यमा न्युजिल्याण्ड, बेलायतस्थित उच्चायुक्त बैठकमा सहभागि

   April 4, 2026  

न्युजिल्याण्डका बेलायतस्थित उच्चायुक्त हामिश कुपरले हर्मुज जलडमरू पुनः सञ्चालनमा ल्याउने विषयमा आयोजित अन्तर्राष्ट्रिय बैठकमा सहभागिता जनाएका छन्। उक्त बैठकमा समुद्री मार्गमार्फत वस्तु ढुवानी पुनः सुचारु गर्ने विषयमा विभिन्न देशहरूबीच साझा रणनीति निर्माणबारे छलफल भएको थियो।

परराष्ट्र मन्त्री विन्स्टन पिटर्सका प्रवक्ताद्वारा जारी वक्तव्य अनुसार बैठक “सहकार्यपूर्ण” रहेको र यसले कूटनीतिक तथा राजनीतिक विकल्पहरूबारे गहन छलफल गर्ने अवसर प्रदान गरेको उल्लेख गरिएको छ। वक्तव्यमा जलडमरूमध्य हुँदै आवश्यक वस्तुहरूको स्वतन्त्र आवागमन पुनःस्थापना गर्न देशहरूले कसरी संयुक्त रूपमा काम गर्न सक्छन् भन्ने विषयमा विशेष जोड दिइएको छ।

बैठकमा विश्वका करिब ४० देशहरूको सहभागिताले हर्मुज जलडमरूमध्य तत्काल पुनः खोल्नुपर्ने विषयमा बलियो अन्तर्राष्ट्रिय सहमति रहेको सन्देश दिएको पनि जनाइएको छ। सहभागी देशहरूले समुद्री मार्ग अवरुद्ध हुँदा विश्वव्यापी आपूर्ति शृंखलामा परेको असरबारे चिन्ता व्यक्त गरेका थिए।

हर्मुज जलडमरूमध्य बन्द हुँदा त्यसको प्रभाव न्युजिल्याण्डमा समेत प्रत्यक्ष देखिएको बताइएको छ। इन्धन आपूर्तिमा समस्या आउनुका साथै मूल्य वृद्धि भएकोले देशको अर्थतन्त्रमा दबाब परेको सरकारी पक्षले जनाएको छ।