क्राइस्टचर्चमा हुने ‘नेपाल फेस्टिभल’को दिन केके हुदैछ ?

203 Shares

क्राइस्टचर्चमा आयोजना हुने नेपाल फेस्टिभल २०२६ मा दिनभर विविध सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरू हुनेछन्। बिहान १० बजेदेखि सुरु हुने यस फेस्टिभलमा सहभागीहरूले जुनसुकै समयमा आएर रमाइलो गर्न सक्ने आयोजकले जनाएका छन् । कार्यक्रममा नेपाली खानाका विभिन्न स्टलहरू खुला रहनेछन्, जहाँ मोमो, चाउमिन, सेलरोटी लगायतका परिकारहरूको स्वाद लिन सकिनेछ। साथै बालबालिकाका लागि फेस पेन्टिङ, बेलुन ट्विस्टिङ र विभिन्न खेलकुद गतिविधिहरूको पनि व्यवस्था गरिएको छ।

फेस्टिभलमा नेपाली संस्कृति झल्काउने हस्तकला, लत्ताकपडा, गहना तथा समुदायसँग सम्बन्धित स्टलहरू राखिनेछन्। दिनभर लाइभ म्युजिक र सांस्कृतिक प्रस्तुतिहरूले वातावरणलाई थप उत्साहपूर्ण बनाउनेछन्। यसले नेपाली कला, संस्कृति र परम्परालाई प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।

कार्यक्रमको तालिका अनुसार बिहान १० बजे कार्यक्रम तयारी र टोली आगमन हुनेछ भने १०:३० बजे बहुसांस्कृतिक झाँकी (परेड) आयोजना गरिनेछ। ११:३० बजे औपचारिक उद्घाटन हुनेछ र त्यसपछि १२ बजे स्वागत तथा सांस्कृतिक प्रस्तुति प्रस्तुत गरिनेछ। दिउँसो १ बजे खाना खाने तथा स्टल अवलोकन गर्ने समय राखिएको छ।

त्यसपछि दिउँसो २ बजेदेखि ५ बजेसम्म सांस्कृतिक तथा सांगीतिक कार्यक्रमहरू सञ्चालन हुनेछन्, जसमा लाइभ ब्यान्ड र विभिन्न समुदायका प्रस्तुति समावेश रहनेछन्। अन्त्यमा साँझ ५ बजेदेखि ५:३० बजेसम्म समापन तथा पुरस्कार वितरण कार्यक्रम गरिनेछ। निःशुल्क प्रवेश र परिवारमैत्री वातावरणका कारण यो फेस्टिभल सबैका लागि विशेष आकर्षणको केन्द्र बन्ने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार

सबै