न्युजिल्याण्डका प्रधानमन्त्रीद्वारा नेपाल फेस्टिभलका लागि शुभकामना व्यक्त

356 Shares

न्युजिल्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनले क्राइस्टचर्चमा शनिबार हुने नेपाल फेस्टिभलको अवसरमा नेपाली समुदायलाई शुभकामना व्यक्त गरेका छन्। उनले न्युजिल्याण्डमा नेपाली समुदायले पुर्‍याउँदै आएको योगदानको उच्च प्रशंसा गर्दै यस्ता कार्यक्रमले देशमा सांस्कृतिक विविधता, एकता र सामाजिक सम्बन्ध मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्।

प्रधानमन्त्रीले आफ्नो सन्देशमा भने, “क्राइस्टचर्चमा मनाइँदै गरेको नेपाल फेस्टिभलमा सहभागी सबैलाई ‘किया ओरा’ र ‘नमस्ते’। म यही सुन्दर सहरमा हुर्किएको व्यक्ति भएकाले यस्ता कार्यक्रममार्फत समुदायहरू एकजुट भएको देख्न पाउँदा विशेष खुशी लाग्छ।”

उनले नेपाल फेस्टिभलले नेपाली संस्कृतिको समृद्धता झल्काउने मात्र नभई न्युजिल्याण्डलाई अझ सुन्दर र विविधतापूर्ण बनाउने पक्षलाई उजागर गर्ने बताए। “यो तपाईंहरूको अद्भुत संस्कृतिको उत्सव हो र यही विविधताले हाम्रो समाजलाई अझ राम्रो बनाएको छ,” उनले भने।

प्रधानमन्त्रीले नेपाली समुदायलाई क्राइस्टचर्च मात्र नभई सम्पूर्ण न्युजिल्याण्डकै महत्वपूर्ण र सम्मानित हिस्सा भएको उल्लेख गर्दै संगीत, स्वादिलो खाना र बलियो सामुदायिक भावना यस फेस्टिभलको विशेषता भएको बताए।

उनले सबै सहभागीलाई सफल र रमाइलो फेस्टिभलको शुभकामना व्यक्त गर्दै भने, “तपाईंहरू सबैलाई उत्कृष्ट र अविस्मरणीय नेपाल फेस्टिभलको हार्दिक शुभकामना।”

सम्बन्धित समाचार

सबै