न्युजिल्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनले आफ्नो नेतृत्वमाथि उठेको प्रश्नबीच विश्वासको मत जित्दै पद सुरक्षित गर्न सफल भएका छन्। नेशनल पार्टीको बैठकमा सम्पन्न मतदानपछि उनले आफ्नो ककसको पूर्ण समर्थन रहेको बताएका छन्।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री लक्सनले भने, “मैले आफ्नो नेतृत्वमाथि औपचारिक विश्वासको प्रस्ताव राखेको थिएँ र त्यो प्रस्ताव पारित भएको छ। ककसले स्पष्ट र निर्णायक रूपमा मेरो नेतृत्वलाई समर्थन गरेको छ, अब यो विषय समाप्त भएको छ।”
पछिल्लो एक वर्षमा कमजोर अर्थतन्त्र र बढ्दो बेरोजगारीका कारण प्रधानमन्त्री लक्सनको लोकप्रियता घट्दै गएको देखिएको छ। आगामी नोभेम्बरमा हुने आमनिर्वाचनअघि सार्वजनिक भएका विभिन्न सर्वेक्षणहरूले नेशनल पार्टीको समर्थन ३० प्रतिशतभन्दा माथि पुग्न संघर्ष गरिरहेको देखाएका छन्।
मार्चमा सार्वजनिक भएको एक सर्वेक्षण अनुसार विपक्षी नेता क्रिस हिप्किन्सलाई प्रधानमन्त्रीका रूपमा रोज्ने मतदाता २०.७ प्रतिशत रहेका छन् भने लक्सनलाई समर्थन गर्नेको संख्या १७.३ प्रतिशत मात्रै रहेको देखिएको छ। यसले उनको व्यक्तिगत लोकप्रियतामा गिरावट आएको संकेत गर्छ।
नेशनल पार्टीको नियमित बैठकका क्रममा गोप्य रूपमा गरिएको उक्त मतदान पछिल्लो समय उनको नेतृत्वबारे भइरहेको मिडिया अड्कलबाजीलाई अन्त्य गर्ने उद्देश्यले गरिएको थियो। लक्सनले मिडियामा आएका अनुमानहरूलाई खारेज गर्दै आफू त्यस्ता हल्लामा संलग्न नहुने बताएका छन्।
सन् २०२३ को निर्वाचनपछि नेशनल पार्टीले दक्षिणपन्थी गठबन्धन सरकारको नेतृत्व गर्दै आएको छ भने लक्सनले सन् २०२१ देखि पार्टीको नेतृत्व सम्हाल्दै आएका छन्। पछिल्ला सर्वेक्षणहरूले अहिले नै चुनाव भएमा लेबर पार्टी नेतृत्वको वामपन्थी गठबन्धन अगाडि आउन सक्ने संकेत गरे पनि वास्तविक चुनाव अझै केही महिनापछि मात्रै हुने छ।


