न्यूजिल्याण्डको आगामी आर्थिक वर्षको बजेट मे २८ मा सार्वजनिक हुने भएको छ। अर्थमन्त्री निकोला विलिसले उक्त बजेट सार्वजनिक गर्ने तय भएको हो।
यो बजेट वर्तमान कार्यकालको अन्तिम बजेट हुने भएकाले यसको महत्व अझ बढेको छ। सन् २०२३ मा गठन भएको नेसनल नेतृत्वको सरकारको यो तेस्रो बजेट हो। अघिल्ला बजेटहरूमा आर्थिक सुधार र खर्च नियन्त्रणमा केन्द्रित भएको सरकारले यसपटक के–कस्ता नयाँ प्राथमिकता ल्याउँछ भन्ने विषयमा व्यापक चासो देखिएको छ।
हाल न्यूजिल्याण्डको अर्थतन्त्र दबाबमा रहेको अवस्थामा बजेट आउने भएकाले सर्वसाधारणदेखि व्यवसायिक क्षेत्रसम्म सबैको ध्यान यसतर्फ केन्द्रित भएको छ। बढ्दो जीवनयापन खर्च, मुद्रास्फीति नियन्त्रण, कर नीति, र रोजगारीका अवसरजस्ता विषयहरू बजेटका प्रमुख एजेण्डा बन्न सक्ने अनुमान गरिएको छ।
विशेषगरी मध्यम वर्ग र व्यवसायीहरूले राहतका कार्यक्रम आउने अपेक्षा गरेका छन् भने सरकारलाई आर्थिक सन्तुलन कायम राख्ने चुनौती पनि उत्तिकै रहेको छ। यसबीच, सरकारले खर्च कटौती र विकासबीच सन्तुलन कसरी मिलाउँछ भन्ने कुरा महत्वपूर्ण हुनेछ।
आगामी बजेटले देशको आर्थिक दिशा तय गर्ने भएकाले यसको प्रभाव व्यापक रहने विश्लेषकहरूको भनाइ छ। त्यसैले मे २८ मा सार्वजनिक हुने बजेटलाई लिएर देशभर चासो र अपेक्षा उच्च रहेको छ।


