न्युजिल्याण्डका प्रधानमन्त्री लक्सन आज सिङ्गापुर जादै

203 Shares

न्युजिल्याण्डका क्रिस्टोफर लक्सन आज (मंगलबार) साँझ सिङ्गापुर प्रस्थान गर्दैछन्। भ्रमणका क्रममा उनले न्युजिल्याण्डतर्फ इन्धन आपूर्ति निरन्तर रहनेबारे आश्वासन खोज्ने छन् भने विश्व बजारमा देखिँदै गएको अनिश्चितताबारे पनि छलफल गर्ने कार्यक्रम रहेको छ।

सिङ्गापुरमा प्रधानमन्त्री लरेन्स वंगसँग हुने भेटवार्तामा Strait of Hormuz बाट भइरहेको सीमित आपूर्ति र त्यसको प्रभावबारे मुख्य रूपमा चर्चा हुने अपेक्षा गरिएको छ। प्रारम्भिक संकेतहरूअनुसार, उक्त मार्ग पूर्ण रूपमा खुले पनि अवस्था सामान्य हुन अझै केही महिना लाग्न सक्ने देखिएको छ।

विशेषज्ञहरूले मध्यपूर्वमा भएको पूर्वाधार क्षति र सुरक्षा जोखिमका कारण जहाजहरू तुरुन्तै नियमित रूपमा सञ्चालनमा फर्कन नसक्ने बताएका छन्। ड्रोन तथा सम्भावित आक्रमणको जोखिमका कारण शिपिङ कम्पनीहरूले सावधानी अपनाउने सम्भावना उच्च रहेको छ।

प्रधानमन्त्री लक्सनले हालको विश्व परिस्थितिप्रति चिन्ता व्यक्त गर्दै न्युजिल्याण्डवासीहरूमा बढ्दो असुरक्षाको भावना रहेको बताएका छन्। उनले विश्वव्यापी द्वन्द्व र कमजोर बन्दै गएको नियममा आधारित प्रणालीले जनमानसमा चिन्ता थपिएको उल्लेख गरेका छन्।

यस भ्रमणका क्रममा लक्सन र अर्थ तथा इन्धन मन्त्री निकोला विलिसले प्रमुख ऊर्जा कम्पनीहरूसँग पनि भेट गर्ने कार्यक्रम तय भएको छ। प्रारम्भिक अपेक्षाअनुसार, कच्चा पदार्थको स्रोतमा परिवर्तन भए पनि रिफाइनरीहरूले ग्राहकको माग पूरा गर्न सक्ने अवस्था रहेको जानकारी प्राप्त हुन सक्छ।

साथै, संकटका बेला आवश्यक आपूर्ति निरन्तर राख्ने विषयमा दुई देशबीच विशेष सम्झौता गर्ने तयारी पनि रहेको बताइएको छ। यदि उक्त सम्झौता सम्पन्न भएमा, यो विश्वमै नयाँ प्रकारको सहकार्यको उदाहरण बन्नेछ र अन्य देशहरूले पनि यस्तै मोडेल अपनाउन सक्ने सम्भावना रहेको छ।

प्रधानमन्त्री लक्सनको भ्रमणलाई इन्धन आपूर्ति सुरक्षित राख्ने रणनीति र अन्तर्राष्ट्रिय सहकार्य सुदृढ गर्ने दिशामा महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

सम्बन्धित समाचार

सबै