न्युजिल्याण्डमा ‘एभरेष्ट डे’ मनाईने – New Zealand News Nepal (NZ News Nepal)

न्युजिल्याण्डमा ‘एभरेष्ट डे’ मनाईने

   May 22, 2022  

विश्वको अग्लो शिखर सगरमाथामा मानव पाईला टेकिएको दिन मे २९ का दिन मनाइने एभरेष्ट डे यो वर्ष पनि न्युजिल्याण्डमा मनाइने भएको छ । न्युजिल्याण्डमा बिभिन्न शहरमा आउदो मे २८ , २९ र ३१ तारिकका दिन यो दिवस मनाउन लागिएको हो । सन् १९५३ मे २९ तारिकका दिन न्युजिल्याण्डका एडमण्ड हिलारी र नेपालका तेन्जिङ नोर्गे शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका थिए ।

सोही दिनको सम्झनामा हरेक वर्ष न्युजिल्याण्डमा एभरेष्ट डे मनाउने गरिन्छ । यो वर्ष मे २८ का दिन न्युजिल्याण्डको साउथ आईल्याण्डमा रहेको ईभरकार्गिलमा एभरेष्ट डेको अवसरमा कार्यक्रम हुने भएको छ । त्यस्तै साउथ आईल्याण्ड कै Christchurch मा मे २९ का दिन कार्यक्रम गर्न लागिएको हो । सोही दिन नर्थ आईल्याण्डको अकल्याण्ड, ह्यामिल्टन र बे अफ प्लेन्टीको पापामोवाका बिशेष कार्यक्रम आयोजना गर्ने तयारी छ । उता राजधानी वेलिङ्टनमा भने ३१ तारिकका दिन एभरेष्ट डेको कार्यक्रम हुने छ । कार्यक्रमले न्युजिल्याण्ड र नेपाल बिचको सम्बन्धलाई थप उचाइमा लाने अपेक्षा गरिएको छ ।