पूर्व प्रधानमन्त्री जसिण्डा आर्डर्नले आफू र आफ्नो परिवार हाल अष्ट्रेलियाको सिड्नीमा बसोबास गरिरहेको र तत्काल न्युजिल्याण्ड फर्किने कुनै निश्चित योजना नरहेको बताएकी छन्।
सिड्नी मर्निङ हेराल्डसँगको अन्तर्वार्तामा आर्डर्नले आफूहरू अहिले “जीवन जसरी अघि बढ्छ, त्यसरी नै अघि बढिरहेको” बताउँदै परिवारसहित सिड्नीको उत्तरी समुद्री तटीय क्षेत्रमा बसिरहेको जानकारी दिइन्।
प्रधानमन्त्री पदबाट सन् २०२३ मा बाहिरिएपछि आर्डर्न परिवारले अमेरिका र बेलायतमा समय बिताएको थियो। अहिले भने न्युजिल्याण्ड नजिक रहने उद्देश्यले अष्ट्रेलिया रोजेको उनले बताइन्।
“हामी लामो समय घरदेखि टाढा थियौं। परिवार र साथीहरूसँग नजिक हुन चाहन्थ्यौं,” उनले भनिन्। “तर हामीसँग कुनै निश्चित समयसीमा छैन। हामी कहिल्यै पाँच वर्षे योजनामा विश्वास गर्ने मानिस थिएनौं।”
सिड्नीलाई “सुन्दर शहर” भनेकी आर्डर्नले न्युजिल्याण्डप्रतिको आफ्नो माया अझै कायम रहेको पनि उल्लेख गरिन्। “मेरो नजरमा न्युजिल्याण्ड सधैं पृथ्वीको सबैभन्दा राम्रो ठाउँ रहनेछ,” उनले भनिन्।
आर्डर्नले समुद्र नजिकको जीवन आफ्ना जीवनसाथीलाई विशेष मनपर्ने बताइन् भने छोरी नेभ अष्ट्रेलियाको वन्यजन्तु र चराचुरुङ्गीसँग रमाइरहेको उल्लेख गरिन्।
अन्तर्वार्ताका क्रममा उनले अमेरिकी राष्ट्रपतिको राजनीति र नेतृत्व शैलीको आलोचना पनि गरिन्। साथै विश्वभर लोकतान्त्रिक संस्थामाथिको विश्वास कमजोर हुँदै गएकोप्रति चिन्ता व्यक्त गरिन्।
पद छाडेपछि आर्डर्नको संस्मरण पुस्तक A Different Kind of Power र नेटफ्लिक्स डकुमेन्ट्री Prime Minister हालै सार्वजनिक भएका छन्।



