चुनाव अघि ईमिग्रेसन थप कडा बनाउने, किवी सेभरमा परिवर्तन ल्याउने सरकारको तयारी – New Zealand News Nepal (NZ News Nepal)

चुनाव अघि ईमिग्रेसन थप कडा बनाउने, किवी सेभरमा परिवर्तन ल्याउने सरकारको तयारी

   May 14, 2026  

न्यूजिल्याण्ड सरकारले आगामी निर्वाचनअघि ईमिग्रेसन नीति थप कडा बनाउने संकेत दिएको छ । साथै, किवीसेभर योजनामा पनि परिवर्तन ल्याउने तयारी भइरहेको प्रधानमन्त्री क्रिस्टोफर लक्सनले बताएका छन् ।

अकल्याण्डमा आयोजित बजेटपूर्व कार्यक्रममा बोल्दै लक्सनले सामाजिक स्थायित्वलाई प्राथमिकतामा राखेर अध्यागमन नीति निर्माण गरिने बताएका हुन् । उनले युरोप र उत्तर अमेरिकामा लागू भएका “असफल” अध्यागमन नीतिका कारण सामाजिक विभाजन बढेको उल्लेख गर्दै न्यूजिल्याण्डमा पनि यस विषयमा सावधानी अपनाउनुपर्ने बताए ।

प्रधानमन्त्री लक्सनले व्यवसायी समुदायलाई सम्बोधन गर्दै सामाजिक स्थायित्व र व्यापारिक नाफाबीच छनोट गर्नुपरे सामाजिक स्थायित्वलाई प्राथमिकता दिने स्पष्ट पारे ।

उनका अनुसार सरकारले दक्ष कामदारलाई प्राथमिकता दिने, अंग्रेजी भाषा मापदण्ड कडा बनाउने तथा नियम उल्लंघनमा थप कडाइ गर्ने तयारी गरिरहेको छ ।

यसैबीच, नेसनल पार्टीले किवीसेभर योजनामा पनि सुधारको तयारी गरेको जनाएको छ । प्रधानमन्त्री लक्सनले सेवानिवृत्ति आयुक्त र विभिन्न विश्लेषकहरूले सुझाएका सुधार प्रस्तावहरूबारे अध्ययन भइरहेको र छिट्टै थप नीति सार्वजनिक गरिने बताए ।

यसअघि नेशनल पार्टीले पुनः सरकारमा आए रोजगारदाताले किवीसेभरमा गर्ने न्यूनतम योगदान दर बढाउने घोषणा गरिसकेको छ ।