न्युजिल्याण्डकी अर्थमन्त्री निकोला विलिसले आगामी बजेटअघि सार्वजनिक सेवा क्षेत्रमा व्यापक सुधार योजना सार्वजनिक गर्ने भएकी छन् ।
विलिसले आज अकल्याण्डको नर्थ शोरस्थित व्यवसायिक संस्था बिजनेस नर्थ हार्बर मा दिने सम्बोधनमार्फत सरकारी निकायको संख्या घटाउने, सार्वजनिक सेवामा कर्मचारी संख्या कम गर्ने तथा डिजिटाइजेशन र कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग तीव्र बनाउने योजना घोषणा गर्ने अपेक्षा गरिएको छ ।
उनको सम्बोधनमा वित्तीय अनुशासनको आवश्यकता पुनः दोहोर्याउँदै सरकारी संयन्त्र सञ्चालनको संरचनात्मक सुधार आवश्यक रहेको विषयमा जोड दिइने बताइएको छ ।
सरकारले सार्वजनिक खर्च नियन्त्रण र कार्यक्षमता बढाउने उद्देश्यसहित सरकारी सेवा प्रणालीलाई प्रविधिमैत्री बनाउने रणनीति अघि सारेको बुझिएको छ । विशेषगरी डिजिटल प्रणाली र एआई प्रयोगमार्फत सेवा प्रवाहलाई छिटो, प्रभावकारी तथा कम खर्चिलो बनाउने योजना सरकारको प्राथमिकतामा रहेको बताइएको छ ।
विलिसको यो सम्बोधन विन्स्टन पिटर्सले दुई दिनअघि पुनः निर्वाचित भए सरकारी ऋण बढाएर बीएनजेड बैंक फिर्ता किन्ने प्रस्ताव सार्वजनिक गरेपछि आएको हो ।
हाल बीएनजेड बैंक अस्ट्रेलियाको नेशनल अस्ट्रेलिया बैंकको स्वामित्वमा रहेको छ । नेशनल अस्ट्रेलिया बैंकको अष्ट्रेलियन स्टक एक्सचेन्ज (एएसएक्स) मा बजार पूँजीकरण A$111 अर्ब रहेको छ ।
बजार अनुमानअनुसार बिक्रीका लागि नराखिएको बीएनजेड बैंकको मूल्य कम्तीमा २५ अर्ब न्युजिल्याण्ड डलर वा सोभन्दा माथि हुन सक्ने बताइएको छ ।
सरकार आगामी बजेटमार्फत खर्च कटौती, सरकारी संरचना पुनर्गठन र आर्थिक अनुशासनलाई प्राथमिकतामा राख्ने तयारीमा रहेको संकेत विलिसको सम्बोधनले दिने अपेक्षा गरिएको छ ।


