न्युजिल्याण्डको बजेट भोलि प्रस्तुत हुँदै – New Zealand News Nepal (NZ News Nepal)

न्युजिल्याण्डको बजेट भोलि प्रस्तुत हुँदै

   May 27, 2026  

न्युजिल्याण्डको २०२६/२०२७ को बजेट भोलि प्रस्तुत हुँदैछ। अर्थमन्त्री निकोला विलिसले भोलि दिउँसो २ बजे (न्युजिल्याण्ड समय अनुसार) संसदमा बजेट वक्तव्य प्रस्तुत गर्नेछिन्। यो उनको तेस्रो वार्षिक बजेट हुनेछ, जसले आगामी आर्थिक वर्षमा सरकारको खर्च र प्राथमिकताबारे स्पष्ट पार्नेछ।

सरकारले यस वर्षको बजेटलाई आर्थिक सुधार, स्वास्थ्य, शिक्षा, पूर्वाधार तथा सुरक्षा क्षेत्रमा केन्द्रित गर्ने संकेत दिएको छ। प्रधानमन्त्री क्रिस्टोफर लक्जनले यो बजेटलाई “परिपक्व” बजेट भएको बताउँदै अनावश्यक लोकप्रिय घोषणा नहुने संकेत दिएका छन्।

हालसम्म सार्वजनिक भएका मुख्य घोषणाहरू यस्ता छन्:

• सार्वजनिक सेवा क्षेत्रमा ठूलो कटौती गर्दै आगामी तीन वर्षमा करिब ८ हजार ७ सय सरकारी जागिर हटाइने
• विभिन्न सरकारी निकायहरू गाभिने तथा एआई र डिजिटल प्रविधिको प्रयोग बढाइने
• रक्षा क्षेत्रमा १.५८ अर्ब डलर लगानी, ड्रोन प्रणाली तथा नौसेना सुधारमा खर्च
• सामाजिक आवास प्रणालीमा ठूलो परिवर्तन, केही परिवारलाई थप सहायता तर केहीको भत्ता कटौती
• विद्यालयको निःशुल्क लन्च कार्यक्रमलाई थप एक वर्ष निरन्तरता दिन २१२ मिलियन डलर विनियोजन
• ओटागो सेन्ट्रल लेक्स क्षेत्रमा स्वास्थ्य सेवा विस्तारका लागि १८० मिलियन डलर
• पढाइ, लेखाइ र गणित सुधार कार्यक्रमका लागि १३१ मिलियन डलर
• विश्वविद्यालयको “फिज-फ्री” योजना पूर्ण रूपमा हटाइने
• जङ्गली पाइन नियन्त्रण कार्यक्रमका लागि थप ७९ मिलियन डलर
• तस्करी नियन्त्रणका लागि पानीमुनि सञ्चालन हुने प्रविधिमा लगानी
• ग्यासमा निर्भरता घटाउन व्यवसायलाई सस्तो ऋण सुविधा
• अकल्याण्डमा एम्बुलेन्स सेवा सुधारका लागि ३५ मिलियन डलर
• बालबालिकाको पेलियाटिभ केयर सेवाका लागि १५.५ मिलियन डलर

सरकारले पूँजीगत खर्च बढाउँदै ऊर्जा, पूर्वाधार तथा राष्ट्रिय सुरक्षामा थप लगानी गर्ने संकेत पनि दिएको छ। बजेट घोषणापछि कर, सरकारी सेवा, स्वास्थ्य, शिक्षा तथा रोजगारी क्षेत्रमा प्रत्यक्ष प्रभाव पर्ने अपेक्षा गरिएको छ।