न्युजिल्याण्डको सत्ताधारि दल नेशनल पार्टीले प्रमुख प्रतिपक्षी लेबर पार्टीका चुनावी वाचाहरू कार्यान्वयन गर्न आवश्यक बजेटको स्रोतबारे प्रश्न उठाएको छ। नेशनलकी अर्थ प्रवक्ता तथा अर्थ मन्त्री निकोला विलिसले लेबरले घोषणा गरेका विभिन्न नीति तथा कार्यक्रमहरूको खर्च धान्न पर्याप्त आर्थिक स्रोत नदेखिएको दाबी गरेकी छन्।
आइतबार आयोजित पत्रकार सम्मेलनमा विलिसले लेबर नेता क्रिस हिप्किन्स र Artha अर्थ प्रवक्ता बारबरा एडमन्ड्सलाई पार्टीका खर्चिला योजनाहरू कसरी वित्तीय रूपमा व्यवस्थापन गरिने हो भन्नेबारे स्पष्ट जवाफ दिन आग्रह गरिन्। उनले मतदाताहरूले पनि चुनावअघि लेबरका योजनाहरूको वास्तविक लागत र त्यसको स्रोतबारे जान्न पाउनुपर्ने बताइन्।
नेशनलले सार्वजनिक गरेको ‘लेबर्स हिडेन बिल’ नामक दस्तावेजअनुसार लेबरले हालसम्म घोषणा गरेका नीतिहरू कार्यान्वयन गर्न आगामी चार वर्षमा करिब २१ अर्ब न्युजिल्याण्ड डलर खर्च हुने अनुमान गरिएको छ। तर लेबरले प्रस्ताव गरेको पुँजीगत लाभ कर (क्यापिटल गेन्स ट्याक्स) बाट सोही अवधिमा करिब २।८ अर्ब डलर मात्रै राजस्व संकलन हुने नेशनलको दाबी छ।
विलिसका अनुसार यसले लेबरको खर्च योजना र आम्दानीबीच करिब १८।२ अर्ब डलरको अन्तर देखाउँछ। “सरकारको वित्तीय अवस्था अहिले पनि दबाबमा छ। चुनावी वाचाहरू पूरा गर्न आवश्यक स्रोत कहाँबाट आउने हो भन्ने विषयमा लेबरले स्पष्टता दिनुपर्छ,” उनले भनिन्।
नेशनलले आफ्नो विश्लेषणमा सामाजिक आवास सम्बन्धी केही नीतिहरू पनि समावेश गरेको छ। पार्टीका अनुसार लेबरले हालै गरिएका केही आवासीय भाडा सम्बन्धी परिवर्तनहरू उल्टाउने सम्भावना रहेको अनुमान गरिएको छ, जसले थप सयौँ मिलियन डलरको खर्च थप्न सक्छ।
यद्यपि लेबरले नेशनलको आरोपलाई अस्वीकार गरेको छ। वित्त प्रवक्ता बारबरा एडमन्ड्सले नेशनल “राजनीतिक रूपमा दबाबमा परेको” बताउँदै प्रस्तुत गरिएको तथ्याङ्कलाई अतिरञ्जित र भ्रामक भएको प्रतिक्रिया दिएकी छन्। उनले लेबरका आर्थिक नीतिहरू जिम्मेवार र दिगो रहेको दाबी गरिन्।
चुनाव नजिकिँदै जाँदा आर्थिक व्यवस्थापन, कर नीति र सरकारी खर्चका विषयहरू प्रमुख राजनीतिक बहसको केन्द्रमा देखिएका छन्। नेशनल र लेबरबीचको यो आरोप–प्रत्यारोपले आगामी निर्वाचनमा अर्थतन्त्रको मुद्दा झनै महत्वपूर्ण बन्ने संकेत गरेको राजनीतिक विश्लेषकहरू बताउँछन्।


