न्युजिल्याण्डमा बसोबास गरिरहेका नेपाली नागरिकहरूका लागि नजिकका प्रशान्त टापु राष्ट्रहरू छोटो बिदा र पर्यटनका लागि आकर्षक गन्तव्यका रूपमा उभिएका छन्। नेपाली नागरिकले केही देशमा भिसा अन अराइभल वा आगमन अनुमति प्राप्त गर्न सक्ने भएकाले यात्रा तुलनात्मक रूपमा सहज हुने देखिएको छ।
विशेषगरी कुक आइल्याण्ड्स, सामोआ र निउए नेपालीहरूका लागि लोकप्रिय विकल्प बन्न सक्नेछन्। यी गन्तव्यहरू न्युजिल्याण्डबाट छोटो हवाई यात्रामै पुग्न सकिने भएकाले परिवारसहितको बिदा वा छोटो भ्रमणका लागि उपयुक्त मानिन्छन्।
कुक आइल्याण्ड्स:
कुक आइल्याण्ड्सले नेपाली नागरिकलाई ३० दिनसम्म बस्न मिल्ने निःशुल्क आगमन भिसा (भिसा अन अराइभल) प्रदान गर्दै आएको छ। यस सुविधा अन्तर्गत नेपाली नागरिकले पर्यटन प्रयोजनका लागि ३० दिनसम्म कुक आइल्याण्ड्समा बस्न सक्नेछन्। कुक आइल्याण्ड्स अकल्याण्डबाट करिब ३,००० किलोमिटर टाढा रहेको छ। यहाँ पुग्न करिब ४ घण्टा लाग्छ। निलो समुद्र, सेतो बालुवायुक्त समुद्री किनारा र शान्त वातावरणका कारण यो लोकप्रिय छुट्टी गन्तव्य हो।
सामोआ:
सामोआ अकल्याण्डबाट करिब २,९०० किलोमिटर दूरीमा रहेको छ। हवाई यात्राबाट करिब ४ घण्टामा पुग्न सकिन्छ। नेपाली नागरिकले सामोआ जान कुनै भिसा लिनुपर्दैन। विमानस्थलमा अध्यागमन विभागबाट प्रवेश अनुमति (इन्ट्री परमिट) प्राप्त गरेपछि सामोआ प्रवेश गर्न सकिन्छ।
निउए:
नेपाली नागरिकले निउएमा ३० दिनसम्म भिसाबिनै यात्रा गर्न सक्छन्। यसका लागि राहदानी, फर्किने वा अर्को गन्तव्यतर्फको पुष्टि भएको हवाई टिकट, बसोबासको प्रमाण तथा यात्राका लागि पर्याप्त आर्थिक स्रोत भएको प्रमाण पेश गर्नुपर्ने हुन्छ। निउए अकल्याण्डबाट करिब २,४०० किलोमिटर टाढा रहेको छ भने उडान समय करिब साढे ३ घण्टा लाग्छ।
तुभालु:
नेपालीले पर्यटन प्रयोजनका लागि तुभालु यात्रा गर्दा भिसा अन अराइभल प्राप्त गर्न सक्छन्। यो भिसा फुनाफुटी अन्तर्राष्ट्रिय विमानस्थलमा आगमनपछि प्रदान गरिन्छ। उक्त भिसामार्फत एक महिनासम्म तुभालुमा बस्न सकिन्छ भने यसको शुल्क १२० न्युजिल्याण्ड डलर रहेको छ। तुभालु पुग्न सामान्यतया फिजी हुँदै यात्रा गर्नुपर्ने हुन्छ ।
पलाउ:
पलाउ भ्रमण गर्नुअघि अनिवार्य रूपमा अग्रिम भिसा प्राप्त गर्नुपर्छ। पलाउमा नेपाली नागरिकका लागि भिसा अन अराइभल सुविधा उपलब्ध छैन। त्यसैले यात्रा मिति तय गर्नुअघि नजिकको पलाउ दूतावास वा वाणिज्य दूतावासमार्फत भिसा आवेदन प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ। पलाउ न्युजिल्याण्डबाट करिब ६,००० किलोमिटरभन्दा बढी दूरीमा अवस्थित छ।
फिजी:
नेपाली नागरिकले फिजी यात्रा गर्नुअघि अनिवार्य रूपमा भिजिटर भिसा प्राप्त गर्नुपर्छ। भिसाका लागि फिजी अध्यागमन मन्त्रालयको अनलाइन पोर्टलमार्फत आवेदन दिन सकिन्छ। भिसा प्रक्रियामा सामान्यतया १४ दिन लाग्ने गर्दछ भने एकपटक प्रवेश (सिंगल-एन्ट्री) भिसाको शुल्क ७२ न्युजिल्याण्ड डलर रहेको छ।
टोंगा:
नेपाली नागरिकले टोंगा यात्रा गर्नुअघि अनिवार्य रूपमा भिसा प्राप्त गर्नुपर्छ। नेपाली राहदानीधारीका लागि टोंगामा भिसा अन अराइभल सुविधा उपलब्ध छैन।
भानुआटु:
नेपाली नागरिकलाई भानुआटु प्रवेशका लागि भिसा आवश्यक पर्छ। पर्यटक भिसाका लागि यात्रा अघि आवेदन दिन सकिन्छ। साथै, निश्चित सर्तहरू पूरा गरेमा भिसा अन अराइभल सुविधा पनि प्राप्त गर्न सकिन्छ। यसका लागि आवास बुकिङ वा समर्थन पत्र, पर्याप्त आर्थिक स्रोतको प्रमाण तथा फर्किने वा अर्को गन्तव्यतर्फको टिकट अनिवार्य रूपमा साथमा हुनुपर्छ।
न्युजिल्याण्डमा रहेका नेपाली समुदायका लागि प्रशान्त क्षेत्रका यी टापुहरू नेपाल बाहिरको नजिकको अन्तर्राष्ट्रिय पर्यटन अनुभव लिन उत्कृष्ट विकल्प बन्न सक्छन्। छोटो उडान, सुन्दर समुद्री वातावरण र केही देशमा सहज प्रवेश व्यवस्थाले यी गन्तव्यहरूलाई अझ आकर्षक बनाएको छ।


