नेपाली सांगीतिक क्षेत्रमा अत्यन्त लोकप्रिय गायक तथा गीतकार सुशान्त केसी आगामी अगस्टमा आफ्नो बहुप्रतीक्षित ‘पाहुना टुर’ लिएर न्युजिल्याण्ड आउने भएका छन्। आयोजकका अनुसार सुशान्त केसीको सांगीतिक प्रस्तुति ३० अगस्टमा अकल्याण्ड सिटी सेन्टरस्थित NZICC को Te Paepae Theatre मा आयोजना हुने भएको छ।
कार्यक्रमको आयोजना House of Music Entertainment र Hamro Events ले गर्ने भएका छन्। आयोजकहरूले यो कार्यक्रमलाई न्युजिल्याण्डमा बसोबास गर्ने नेपाली समुदायका लागि विशेष सांगीतिक उत्सवका रूपमा प्रस्तुत गर्ने तयारी गरिरहेका छन्।
कार्यक्रम अकल्याण्डको प्रमुख सांस्कृतिक तथा मनोरञ्जन स्थलमध्ये एक मानिने Te Paepae Theatre मा आयोजना हुने भएको हो, जहाँ हजारौं दर्शक अट्ने क्षमता रहेको छ।
आयोजकहरूले टिकट बिक्री तथा थप कार्यक्रम विवरण चाँडै सार्वजनिक गरिने जानकारी दिएका छन्। सुशान्त केसीको न्युजिल्याण्ड आगमनसँगै अकल्याण्डमा चर्चित नेपाली सांगीतिक कार्यक्रममध्ये एक हुने अपेक्षा गरिएको छ।


