वर्क भिसाको लागि न्युजिल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ – New Zealand News Nepal (NZ News Nepal)

वर्क भिसाको लागि न्युजिल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

   July 3, 2026  

वैदेशिक रोजगारी (वर्क भिसा) का लागि न्युजिल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा भारत, बिहार राज्य गोपालगञ्ज घर भएका ४२ वर्षीय सञ्जय कुमार रहेका छन्। हाल उनी काठमाडौं महानगरपालिका–१८ मा बस्दै आएका थिए।

प्रहरीका अनुसार सञ्जय कुमारले एक जनालाई आकर्षक तलबको प्रलोभन देखाउँदै न्युजिल्याण्डमा रोजगारीका लागि पठाइदिने आश्वासन दिएका थिए। तर लामो समयसम्म विदेश नपठाई सम्पर्कविहीन भएपछि पीडितले प्रहरीमा उजुरी दिएका थिए।

अनुसन्धानका क्रममा उनले रु. ९ लाख ८० हजार ठगी गरेको खुलेपछि काठमाडौं महानगरपालिका–१६ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका उनलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौं पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

प्रहरीले वैदेशिक रोजगारीका नाममा कसैलाई पनि रकम बुझाउनु अघि सम्बन्धित म्यानपावर कम्पनी तथा प्रक्रिया आधिकारिक निकायबाट अनिवार्य रूपमा बुझ्न र शंकास्पद गतिविधि देखिएमा तत्काल प्रहरीमा जानकारी गराउन सर्वसाधारणलाई आग्रह गरेको छ।