न्युजिल्याण्डमा आयोजना हुन लागेको लोकप्रिय गायक सुजन चापागाईंको बहुप्रतीक्षित सांगीतिक कार्यक्रम अब औपचारिक रूपमा सुनिश्चित भएको छ। सुजन चापागाईंसहित ‘द इन्फिनिटी’ ब्यान्डका सबै सदस्यहरूको न्युजिल्याण्ड प्रवेशाज्ञा (भिसा) स्वीकृत भएसँगै उनीहरूले अकल्याण्ड र क्राइस्टचर्चमा प्रस्तुति दिने कार्यक्रम आधिकारिक रूपमा पुष्टि भएको हो। यससँगै न्युजिल्याण्डभर रहेका नेपाली संगीतप्रेमीहरूमा कन्सर्टप्रतिको उत्साह झन् बढेको छ।
सुजन चापागाईं र ‘द इन्फिनिटी’ ब्यान्ड आगामी जुलाई २० मा अकल्याण्ड र जुलाई २५ मा क्राइस्टचर्चमा प्रत्यक्ष प्रस्तुति दिनेछन्। भिसा स्वीकृत भएसँगै कार्यक्रम स्थगित वा रद्द हुने अन्योल पनि हटेको छ। आयोजकका अनुसार तयारी अन्तिम चरणमा पुगेको छ भने दुवै शहरका दर्शकहरू कन्सर्टको प्रतीक्षामा छन्।
आयोजकका अनुसार टिकट बिक्री पनि उत्साहजनक रूपमा भइरहेको छ। सामाजिक सञ्जालमा दर्शकहरूले कन्सर्टप्रति देखाएको उत्साहले कार्यक्रम अझ विशेष बन्ने अपेक्षा गरिएको छ। विदेशमा रहेका नेपालीहरूलाई संगीतमार्फत एकै ठाउँमा जोड्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।
‘फुलथुङ्गे रानी’, ‘गाला पुक्क’, ‘ऊनको स्वीटर’, ‘तीनपाते’, ‘बाफ’ लगायतका चर्चित गीतमार्फत सुजन चापागाईंले छोटो समयमै नेपाली संगीत क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका छन्। उनका गीतहरू नेपाल मात्र नभई विश्वभर रहेका नेपालीमाझ अत्यन्त लोकप्रिय छन्। यही कारणले न्युजिल्याण्डका नेपाली समुदाय पनि उनको प्रत्यक्ष प्रस्तुति हेर्न उत्साहित देखिएका छन्।
आयोजकले कन्सर्टमा सहभागी हुने दर्शकलाई समयमै कार्यक्रमस्थल पुग्न तथा आधिकारिक माध्यमबाट मात्र टिकट खरिद गर्न आग्रह गरेको छ। दुवै शहरमा हुने कार्यक्रममा नेपाली संगीत, संस्कृति र मनोरञ्जनको अविस्मरणीय माहोल सिर्जना हुने विश्वास आयोजकले व्यक्त गरेको छ।


